Mansara

‘रणवीर’ ट्रेलरमा सुशिल र प्रशान्तको द्वन्द्व हाबी

२०७५ पौष २७
‘रणवीर’ ट्रेलरमा सुशिल र प्रशान्तको द्वन्द्व हाबी

चलचित्र ‘रणवीर’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा माया र बदलाको भावनालाई समेटिएको छ । ट्रेलरमा अभिनेता सुशिल सिटौला अघिल्ला फिल्मको तुलनामा फरक देखिएका छन् ।

उनले यसै चलचित्रको लागि आफ्नो वजन समेत बढाएका थिए । सुशिलसँगै प्रशान्त ताम्राकार पनि सशक्त रुपमा देखिएका छन् । सुशिल र प्रशान्त बीचको टकरावनै ट्रेलरमा मुख्य रुपमा चित्रण गरिएको छ । यी दुईसँगै अन्य दुई डेब्यु गर्ल सुबेक्षा खड्का र सुपुस्पा भट्टलाई पनि प्रस्तुत गरिएको छ । चलचित्रको लागि नयाँ अनुहार भएता पनि सुबेक्षा सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल बिजेता हुन । ट्रेलरमा टिका पहाडी, नरेश पौडेल, रवी गिरी र हरिहर शर्मालाई पनि स्थान दिइएको छ ।

चलचित्रमा जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्र माघ १८ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।