Mahajatra

चलचित्र खेल्न सक्दिन भन्ने सलिन, यसरी बने चल्तिका कलाकार

भन्छन् – स्कृप्ट मन परेर ‘यात्रा’मा काम गरे

२०७५ चैत्र २४
चलचित्र खेल्न सक्दिन भन्ने सलिन, यसरी बने चल्तिका कलाकार

शुरुमा सलिनलाई चलचित्र खेल्न त्यति मन थिएन । तर, अहिले यही क्षेत्रले उनलाई नाम दिइरहेको छ । करोडौंको चलचित्र आफ्नो काँधमा बोक्नु पर्ने बेला आएको छ । चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा’को प्रमोशनका क्रममा भेटिएका सलिन मान बनियाले ‘ए मेरो हजुर २’ मा अभिनय गर्नु पूर्वका केही कुराहरु समेत खोलेका छन् । ‘यात्रा’को स्कृप्ट मन परेर काम गरेको बताएका सलिनले स्कूल लाइफमा ग्याङ्ग फाइट गर्ने गरेको समेत बताए ।

केही वर्ष पहिले निर्माता सुलिन रावलले ‘लाहुरे’ नामक चलचित्र बनाउने तयारी गर्दै थिए । सलिनलाई उनले लाहुरे खेल्न प्रस्ताव गरे । सलिनले आफुले अभिनय गर्न नसक्ने बताए । सुनिलले अभिनय सिकाउछु भन्दै ट्राइ गर्न भने । चलचित्र ‘सायद २’ को प्रेस मिटकै दिन लाहुरे निर्माणको घोषणा हुँदै थियो । सलिनलाई पनि त्यहाँ बोलाए सुनिलले । सलिन पहिलो पटक फिल्मी माहौलमा पुगेको क्षण त्यही थियो । तर, उनीसँग कुनै सम्झैता भएको थिएन । लगत्तै सुनिल सायद २ मा व्यस्त भए । सलिन भने चलचित्र खेल्नका लागि तयार भइरहेका थिए । लामो समय भयो लाहुरेको कुरा अघि बढेन । सलिनलाई चलचित्र क्षेत्रप्रति केही वितृष्णा समेत लाग्यो । त्यसपछि चलचित्र खेल्दिन भन्ने भाव अझ बढी आयो । सलिन आफ्नै काममा व्यस्त थिए ।

यता कलाकार झरना थापाले चलचित्र निर्देशन गर्ने भइन । कलाकारको खोजि भयो । केही चलेका कलाकारसँग पनि कुरा नभएको होइन । तर, निर्माण पक्षले नयाँ कलाकारको खोजि गरिरहेको थियो । झरनाकी छोरी सुहानाले पनि कलाकार खोजीरहेकी थिइन । सुहानाको साथी मार्फत भेटिए सलिन । सलिनको एक जना साथी सुहानाको पनि मिल्ने साथी रहेछन् । उनै साथीले सलिनको तस्विर पठाइदिए । सलिनलाई ‘ए मेरो हजुर २’ बाट अफर आयो । तर, सलिन चलचित्रमा काम गर्न तयार थिएनन् । उनले झरनाको टिमलाई चलचित्रमा काम नगर्ने बताए । त्यसको कारण थियो आफुलाई अभिनय नआउनु । निर्माताको करोडौं लगानी हुन्छ, आफुलाई अभिनय आउँदैन सलिनलाई सोच्न समय लागेन सक्दिन भनेर भनिदिए । तर, झरना थापाले उनलाई मेहनत गर्यो भने सकिन्छ भनेर अडिसन दिन लगाइन । अडिसनमा सलिनले राम्रो गरे । उनी ‘ए मेरो हजुर २’ मा अनुबन्धित भए । चलचित्रको गीत सार्वजनिक भयो । सलिनको चर्चा शुरु भयो । कल्पना भन्दा माथीको चर्चा थियो । 

स्नातक सकेर बसेको समय थियो । केही सिकिन्छकी भन्ने आशाले मात्र उनी चलचित्र खेल्न राजि भएका थिए । तर, मनमा भने दर्शकले मन नपराउने हुन कि भन्ने डर थियो । दर्शकले मन नपराएर चलचित्र फ्लप भयो भने अर्को पटक आँट गर्ने सोच थिएन । तर, पहिलो चलचित्र सफल भएपछि दोस्रो चलचित्रको प्रतिक्षा बढ्यो । दर्शकहरुले रुचाएपछि सलिनलाई पनि अर्को चलचित्रमा काम गर्न मन लाग्यो । जसका कारण उनले ‘यात्रा’मा अभिनय गरे ।

यद्यपी अहिले सम्म उनले चलचित्र क्षेत्रलाई नै आफ्नो भविष्य ठानेका छैनन् । सलिन दर्शकले मन पराउन्जेल राम्रो काम गर्ने प्रयास आफुबाट हुने बताउँछन् । सबै चलचित्र हिट हुन्छन् भन्ने पनि छैन । कुनै असफल भयो भने त्यसको कारण खोज्ने अनि सुधार गरेर अर्को प्रोजेक्टमा काम गर्ने उनको भनाई छ । त्यति गर्दा पनि आफु सफल हुन नसके त्यसको विकल्प खोज्न समेत उनी तयार छन् । उनलाई सफल व्यवसायि बन्ने इच्छा पनि छ ।

‘ए मेरो हजुर २’ पछि सलिनले अन्य चलचित्रमा काम गरिरहेका थिएनन् । उनलाई चलचित्रको अफर नआएको भन्ने होइन । तर, स्कृप्ट र आफ्नो भुमिकामा चित्त बुझाइरहेका थिएनन् । यही बिचमा ‘यात्रा’का लागि अफर आयो । उनले स्कृप्ट पढे । स्कृप्ट मन पर्यो । आफ्नो क्यारेक्टर मात्र होइन सम्पूर्ण स्कृप्ट नै बलियो लाग्यो । त्यसैले ‘यात्रा’लाई रोजे । त्यसो त चलचित्रलाई टिमवर्क मान्ने सलिन एकजनाको कारण मात्र चलचित्र राम्रो नहुने बताउँछन् । त्यसैले आफ्नो क्यारेक्टर मात्र नभएर उनी सम्पूर्ण स्कृप्ट बलियो हुनुपर्ने जनाउँछन् । स्कृप्ट राम्रो हुँदैमा चलचित्र राम्रो बन्छ भन्ने पनि होइन । उनी स्कृप्ट मात्र नभएर टिम पनि राम्रो पाएका कारण ‘यात्रा’ उत्कृष्ट बनेको ताउँछन् । निर्देशक सम्राट शाक्यले कलाकारबाट आफुले चाहेको जस्तो काम निकालेको समेत उनको भनाई छ । त्यसो त उनले यात्रका लागि फाइट र नृत्यको कक्षा पनि लिए । अभिनयमा सुधार ल्याउन वर्कसप पनि गरे । सके सम्म अघिल्लो चलचित्रमा ओल्याएको कमजोरी यसमा नदोहोरियोस् भन्ने उनको चाहना हो । ३ महिना फाइट र नृत्य सिकेका सलिन त्यो सिकाइले ‘यात्रा’मा काम गर्न निकै सहज भएको बताउँछन् । स्कूल लाइफमा कहिले काँही ग्याङ्ग फाइट हुन्थ्यो । सलिनपनि सामेल हुन्थे । तर, रियल लाइफको एक्सन र रिल लाइफको एक्सन त निकै फरक हुने कुरा बुझे । उनले भने – क्यामराको अघि फाइट खेल्ने तरिकै फरक रहेछ ।

चलचित्र खेल्दै खेल्दिन भनेर बसेका सलिन पछिल्लो पुस्तामा आशा गरिएका कलाकार हुन । २ चलचित्रमा काम गरेका सलिन अभिनयलाई अरुको जीवन जीउने कला मान्छन् । त्यो पनि अरु जस्तो बनेर ।