चलचित्र र समाजको सम्बन्ध
भनिन्छ चलचित्र समाजको दर्पण हो । यथार्थ वा काल्पनिक कथा नै पस्केको किन नहोस् प्रत्येक चलचित्र भित्र एउटा छुट्टै समाज निर्माण हुन्छ । प्रत्येक चलचित्रले समाजभित्र रहेका कुराहरु, संस्कार र संस्कृति, समाजको चरित्र, यथार्थ र विकासक्रम प्रस्तुत गरेको हुन्छ । चलचित्रमा सिङ्गो समाज निर्माण हुने र उक्त प्रस्तुति समाजकै लागि पस्किने हुँदा समाज र चलचित्रका बिच अन्योनाश्रित सम्बन्ध स्थापित हुन जान्छ । समाजको यर्थाथलाई चित्रण गरेका चलचित्रहरु ऐतिहासिक दस्तावेज बन्न जान्छन् भने काल्पनिक कथाका चलचित्रले समाजलाई बिकासको बाटोमा अभि बढ्न मार्गदर्शन पनि गर्न सक्छन् ।
समाज भित्रकै सदस्यहरुले चलचित्र निर्माण गर्ने भएकोले पनि कुनै न कुनै रुपमा चलचित्र भित्र समाजको वास्तविकता झल्किन्छ नै । चाहे त्यो फरक–फरक समाज किन नहोस् । अर्थात कुनैमा तराईको समाज, कुनैमा पहाडको समाज, कुनैमा हिन्दु समाज त कुनैमा मुश्लिम समाज यस्तै यस्तै झल्किरहेको हुन्छ । यी र यस्ता मान्यताका कारण चलचित्र मानव जीवनसँग जोडिएको छ । समाजको विकासक्रमसँग गाँसिएको छ ।
चलचित्र कलाको सबैभन्दा शशक्त माध्यम हो, यसकारण कलात्मकढङ्गले विषयवस्तुको प्रस्तुती जरुरी छ । समाजको विकासक्रमलाई एउटा मान्छेको प्रगतिसँग मात्र जोडेर हेर्न मिल्दैन । चाहे विकसित समाज होस् वा अविकसित नै किन नहोस् । हरेक समाजभित्र माया, प्रेम, घात, प्रतिघात, स्वार्थ, लोभ, कुण्ठा, प्रतिषोध, लडाई, संघर्ष, विभेद, असमानता, न्याय अन्यायलगायतका कुरा हुन्छन् । हो यी सबै पाटाहरूलाई चलचित्रले समेट्नुपर्छ ।
उदाहरणको लागि केही दिन अघि प्रदर्शनमा आएको चलचित्र ‘१२ गाऊ’मा प्रस्तुत कथा काल्पनिक १२ गाऊको समाजको कथा हो । अन्याय बिरुद्धको सामाजिक बिद्रोहको कथा पेश गरेपनि यो प्रसंग वर्तमान समयमा सापेक्ष नलाग्न सक्छ । अर्को चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालका गन्धर्वहरुको प्रतिनिधी कथालाई केन्द्रमा राखि सोही अनुरुपमा समाज चित्रण गरेको छ । यतिबेला प्रदर्शनरत् यो चलचित्रको प्रस्तुतिले धेरै दर्शकको मन छोएको छ । यसमा प्रस्तुत सामाजिक चित्रणलाई गन्धर्व मात्र होइन अन्य समाजका दर्शकहरुले पनि आफ्नै महशुस गरेका छन् । कलात्मक शक्ति पनि यही हो, जसका कारण चलचित्र भित्र प्रस्तुत गरिएको समाज प्रति दर्शकहरुले अपनत्व महशुस गरे ।
नेपाली चलचित्र विकासको क्रममा छ । माथी उल्लेखित विषयवस्तुलाई हाम्रो चलचित्रले छोएकै छैन भन्ने होइन । तर गहिरिएर समाजमा प्रभाव पार्ने हिसाबमा यस्ता विषयवस्तुलाई उठान गर्न भने सकेको छैन । यसो भनिरहँदा समाज विकासको क्रमले चलचित्रको विषयवस्तुलाई निर्देश गर्छ भन्ने यथार्थ भुल्न हुँदैन भने चलचित्रले समाज विकासका लागि चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने सत्य हो । एकअर्काका पूरक समाज र चलचित्र आपसमा छुट्टिनै सक्दैनन् । यसैले समाजभन्दा पर गएर चलचित्र बन्नै सक्दैन ।
चलचित्रले राष्ट्रियता, भाषिक र साँस्कृतिक पहिचान दिलाउनुका साथै भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, नैतिक मूल्य मान्यता समाजमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । चलचित्र एउटा ऐतिहासिक दस्ताबेज पनि हो, ताकि भोलिका पुस्ताले आजको चलचित्र हेरेर आजको सामाजिक, राजनीतिक, भौगोलिक, भाषिक पक्षहरू अध्ययन गर्न सकुन्, त्यसैले चलचित्र यथार्थपरक र समयसापेक्ष हुनुपर्छ । यसो भन्दै गर्दा काल्पनीक कथामा चलचित्र बन्नै हुँदैन भन्न खोजिएको होइन । समाजलाई अग्रगमनको बाटो देखाउन काल्पनीक कथाहरुले पनि अहम् भूमिका खेलेका हुन्छन् । बिज्ञान र प्रबिधीका काल्पनिक कथाहरुले बैज्ञानिकहरुलाई कल्पनालाई यर्थाथमा परिणत गर्न समेत उत्साहित गर्न सक्छन् । नविनयात्रा तय गर्नका लागि काल्पनिक कथाहरु पनि उत्तिकै शशक्त सहयोगी बन्न सक्छन् ।
चलचित्र प्रदर्शन भएदेखि नै समाजमा त्यसको प्रभाव देखिन थाल्छ । धेरै जसो अवस्थामा सुसुप्त रुपमा देखिने प्रभाव सकारात्मक वा नकारात्मक पनि हुन सक्छ । चाहे चलचित्रका पात्रहरूको संवाद होस् वा उनीहरूको हाउभाउ त्यसले दर्शकको मानसपटलमा छिटोभन्दा छिटो प्रभाव जमाउने गरेको पाइन्छ । त्यसैले समाजमा सकारात्मक प्रभाव पार्न चलचित्रकर्मीहरूमा सामाजिक र राष्ट्रिय दायित्वबोध हुनै पर्छ ।
मानवीय मनोविज्ञान गतिशील हुन्छ । मानिसको चेतनाको स्तर तीव्र गतिमा विकास हुँदैछ । अनि समाज द्रूतगतिमा रुपान्तरित र विकसित भइरहेको छ । नेपालीहरूको साक्षरता र प्रविधिमा आएको विकासका कारण सूचना र सम्पर्कको दायरा पनि फराकिलो भएको छ । यसकारण नेपाली समाज भौतिक र मानसिक दुवैरूपमा द्रूतगतिमा परिवर्तन भइरहेको छ । यो परिवर्तनलाई हाम्रा चलचित्रले समेट्न जरुरी छ । समाजको ऐना मानिने चलचित्रले स्थिर समाजको कुरालाई मात्र समेट्न सक्दैन ।
हिजोको समाजमा धनी र गरिव बिचको खाडल स्पष्ट थियो । अशिक्षा र अज्ञानताका कारण धनीमानी, साहुहरुले गरिवमाथी शोषण गर्ने गरेको यर्थाथता सबै सामु छर्लङ्ग थियो । चलचित्रले यस्तै समाज प्रस्तुत गरे । माहानायक राजेश हमालकालिन समयका चलचित्रहरु हेर्ने हो भने चलचित्रमा देखाइएको समाजमा शोषण बिरुद्धको बिद्रोह बढी केन्द्रित थियो । प्रेम कथाका चलचित्रमा समेत समाजमा गडेको जातिय विभेद र असमानताका प्रसंगहरु थुप्रै पटक प्रस्तुत गरिएका छन् । तर, वर्तमान समयमा यस्ता कथाहरु समय सापेक्षित नलाग्न सक्छन् । यद्यपी, कतिपय संस्कृतिसँग समाजसँग गहिरोसँग जोडिएका हुन्छन् । चलचित्र ‘जारी’मा देखाइएको समाज अहिले नभेटिएला, तर, त्यो संस्कारले उक्त समाजका लागि बिशेष मुल्य र मान्यता बोकेको छ । वर्तमान समयमा चलचित्र ‘प्रकाश’ले उठान गरेको कोटा प्रणालीका कारण सक्षम भएर पनि केही समुदायका मानिस कसरी अवसरबाट बञ्चित छन् भन्ने कथा समाजको यर्थाथ हुन सक्छ । चलचित्र ‘दिमाग खराब’ले देखाएको राजनीतिमा युवा बिद्रोहको कथा वर्तमान समाजको यर्थाथ नजिक हुन सक्छ । अहिलेको समाजलाई बुझाउने यस्ता धेरै कथाहरु चलचित्रमा आइरहेका छन् । त्यसैले समय र विकाससँगै चलचित्र भित्र प्रस्तुत हुने समाज पनि परिवर्तन भइरहन्छ ।
त्यसो त चलचित्र एउटा दस्तावेज हो समाज विकासक्रमको । आजका चलचित्र हेरेर भावी सन्ततीले अहिलेको समाज र यसको विकास तथा संस्कार र संस्कृतिको बारेमा जानकारी लिन पाउँछ । मानिस हुर्केको, बसेको परिवेशका कारण विषयको प्रस्तुतिलाई उसको हेर्ने दृष्टिकोणमा पक्कै भिन्नता हुन्छ नै । तर यथार्थ कुरा सबैले स्वीकार गरेकै हुन्छ । हो यही समाज प्रतिविम्बित हुने भएकाले चलचित्रलाई दस्ताबेज मान्ने गरिएको छ ।
चलचित्रमा समाजको कुरा गरिरहँदा अर्थशास्त्र, राजनीति र मनोविज्ञानले पनि प्रभाव पार्ने गर्छ । समाजको विकाससँग यी पक्षहरूको सम्बन्धलाई पनि चलचित्रमा प्रतिविम्बित गर्न सकिन्छ । कथालाई समाजसँग जोड्न सकिन्छ । यसको बलियो आधार प्रस्तुतीको प्रक्रिया हो । समाजभित्रकै कुरा पनि प्रस्तुती सबल भएन भने समाजभन्दा परको जस्तो लाग्न सक्छ । व्यवसायिक रूपमा समाज बाहिरका कुराहरू पनि हाम्रो भुगोल सुहाउँदो तरिकाले कलात्मक ढङ्गले प्रस्तुत गर्न सकेमा त्यसले आफ्नो पनको आभाष दिलाउन सक्छ ।
समाजलाई बुझाउन र परिवर्तनका लागि चेतना फैलाउन चलचित्र सबैभन्दा उपयोगी माध्यम हो । अगाडी पनि उल्लेख गरिसके कि चलचित्र दस्ताबेज हो । यसकारण चलचित्रलाई मनोरञ्जनको माध्यम मात्र मान्न अलि नमिल्ला । हुन त चलचित्र व्यापार हो । तर, अन्य व्यापार जस्तो नभएर यसमा सामाजिक उत्तरदायित्व जोडिएको हुन्छ । बजारको मागअनुसार नै चलचित्रहरू बनाउनुपर्छ भन्दैमा सामाजिक उत्तरदायित्व बहन नै नगरिकन व्यापारका नाममा चलचित्र निर्माण गर्न मिल्दैन । समाजसँग हरेक पक्षबाट जोडिएको चलचित्र समाजप्रतिकै उत्तरदायित्वबाट पन्छिने कुरा आफैमा अस्वभाविक हो ।
विकासको गतिसँगै दर्शकले हरेक पटक नयाँ नयाँ कुराको जानकारी तथा नयाँ र नौलो टेष्ट खोजिरहेको हुन्छ । त्यो पछिल्लो समयका केही चलचित्रहरूले पूरा गर्ने कोसिस गरे । समाजको गतिलाई समातेर चलचित्र बनाए । समाजभित्रकै कुराहरूलाई नयाँ शैलीमा देखाए । प्रस्तुती सवल हुनुमा सिर्जनात्मक यथार्थताको भूमिका रहन्छ । घटना र सम्बन्धलाई परिस्थितिअनुसार उतारचढावका आधारमा केही ड्रामाटाइज गर्न सकिन्छ । तर, समाजभित्रको कुरालाई आत्मसात नगरीकन व्यवसायिकताको नाममा बनने चलचित्रले आम दर्शकलाई अपनत्व महशुस गराउन भने सक्दैन ।
Latest Updates
-
चलचित्र ‘चिठ्ठा’ निर्माण हुने, पौष दोस्रो साताबाट छायाँकन हुने
-
चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev