‘लाज शरणम’को प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश

२०८१ फागुन ६
‘लाज शरणम’को प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश

चलचित्र ‘लाज शरणम्’को प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्व श्रममन्त्री मोहम्मद आफ्ताब आलमले दायर गरेको मुद्धामा मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीसद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै आलमले रिट दायर गरेका थिए । चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै आलमले रिट दायर गरेका थिए ।

अदालतले भनेको छ, ‘निवेदकको संविधान कानून प्रदत्त हक अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिँदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरि पात्रले अभिनय गरेको प्रस्तावित लाज शरणम नामक चलचित्रको विज्ञापन सामाजिक संजाल तथा अन्य सार्वजनिक संचारमाध्यममा प्रचारप्रसार र सो सम्बन्धी पोस्टहरु प्रकाशन, प्रसारण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिनू ।’

जेपीटी क्रिएसनले निर्माण गरेको चलचित्रको पोस्टर सार्वजनिक भएसँगै कलाकार सिताराम कट्टेलको गेटअप पूर्वमन्त्री आलमसँग मिलेको चर्चा भएको थियो । अन्ततः यो विषय अदालतले नै प्रवेश गरेको हो ।

Kumari Bank