Mansara

अभिनय भनेको हाँस्ने, रुने र नाटक पार्ने जस्तो लाग्थ्यो : सुवेक्षा खड्का, अभिनेत्री

२०७५ माघ ४
अभिनय भनेको हाँस्ने, रुने र नाटक पार्ने जस्तो लाग्थ्यो : सुवेक्षा खड्का, अभिनेत्री

२०१२ को मिस नेपाल इन्टरनेशनल बिजेता सुबेक्षा खड्का माघ १८ गतेबाट प्रदर्शन हुने चलचित्र रणवीर मार्फत अभिनयमा डेव्यु गर्दैछिन । सौन्दर्य प्रतियोगिता बाट शुरु भएको उनको ग्यामर दुनियाँको यात्रा मोड्लिङ र टेलिभिजन हुँदै चलचित्र सम्म आइपुगेको छ । ७ वर्ष ग्ल्यामर फिल्डमा विताएकी यि सुन्दरीलाई यस अघि पनि चलचित्रको अभिनय नआएको भने होइन । यद्यपी कुनै चलचित्रको अडिशन पास नभएको, कुनै चलचित्रको कथा मन नपरेको, कुनै चलचित्रमा आफ्नो भुमिका मन नपरेको त कुनै चलचित्रमा समय नमिलेको भन्दै उनले काम गरेकी थिइनन् । रणवीर भने आफ्ना लागि उपयुक्त चलचित्र देखेर काम गरेको उनको भनाई छ । खड्कासँग चलचित्र रणवीर बारे लेन्सनेपालका लागि विष्णु सुबेदीले गरेको कुराकानी :

चलचित्रमा कसरी आउनुभयो ?
चलचित्र नै मेरो ड्रिम भने थिएन । पहिले देखि नै नृत्यमा भने सोख थियो । तर चलचित्र गर्ने सोच थिएन । मोड्लिङ र टेलिभिजन गर्दै गर्दा अफरहरु त आएका थिए । स्कृप्ट राम्रो आएमा अनि निर्देशकहरुले मलाई राम्रोसँग ट्रेन गर्न सक्नुहुन्छ भने म गर्छु भन्ने सोचमा थिए । राम्रो चलचित्रको खोजीमै भएका बेला रणवीरबाट अफर आयो । यसको स्कृप्ट मन पर्यो, आफ्नो क्यारेक्टर पनि मन पर्यो त्यसैले यसमा काम गरेकी हुँ ।

चलचित्रमा तपाईको भुमिका कस्तो छ ?
सामान्य भुमिकामा छु । प्रिया नामको युवतिको भुमिका छ । जुन सामान्य युवति हो ।

प्रिया बन्न के–के गर्नु भयो त ?
मेरो लागि एकदमै नयाँ प्रोसेस थियो । अभिनय भनेको हाँस्ने, रुने अलिकति नाटक पार्ने मात्र हो जस्तो लाग्थ्यो । तर, वर्कशप गर्दा थाहा भयो त्यो क्यारेक्टरमा घुस्नको लागि सराउण्डीङ बुझ्न जरुरी रहेछ । सानो सानो कुराहरुमा ध्यान दिनुपर्ने रहेछ । कतिपय कुराहरु कल्पना गरेर त्यसमा हराएर पनि काम गरेकी छु । त्यसका लागि मैले सेटमा धेरै बेर सोचेर पनि बस्थे । अनि मुडमा आउनलाई आफैले गरेको कुरा सम्झेर आफै हाँस्थे पनि ।
यो चलचित्र पछि मैले सराउण्डीङ बुझ्न थालेकी छु । कहाँ के भइरहेको छ । कसले के गरेको छ । कस्तो हाउभाउ दिइरहेको छ त्यो अहिले बुझ्न थालेकी छु । पहिला यस्ता कुरा ख्याल गर्दिनथिए ।

मिस नेपालबाट आएकोले चर्चा पनि बढी नै देखिन्छ यो चर्चाले चुनौति कत्तिको थपेको छ ?
चुनौति त अवश्य पनि छ । सौन्दर्य प्रतियोगिताबाट नआएको भएपनि चुनौति थियो किनकी अहिले प्रतिष्पर्धा बढेको छ, राम्रा चलचित्रहरु बनिरहेका छन्, एकदमै राम्रो नयाँ नयाँ कलाकारहरु आउनु भएको छ । अझ मिस नेपाल हुँदै आएकोले पनि होला चुनौति त डबल नै देखेकी छु । मेरो बाट आशा पनि छ जस्तो लाग्छ ।

दर्शकले नयाँ र पुरानो कलाकार भन्दैनन् उनीहरुले त प्रफेक्ट अभिनय खोज्छन् त्यो तपाईमा भेटिन्छ ? 
प्रफेक्टनेस त म भन्न सक्दिन । तर मैले गर्न सक्ने जति शत प्रतिशत गरेकी छु । बाँकी त दर्शकले भन्नुहोला । यो एक्सन जनराको चलचित्र हो । मनोरञ्जनात्मक चलचित्र हो । मेरो पात्रलाई मात्र हेर्नु भन्दा पनि यसको समग्र कथा राम्रो छ ।

यो चलचित्र पछि नायिकाको उपमाले चिनिन्छु जस्तो लाग्छ कि लाग्दैन ?
मैले ग्ल्यामर क्षेत्रमा ७ वर्ष काम गरेर बल्ल चलचित्रमा आएकी छु । यसकारण पहिलो चलचित्रबाट नै नायिका भनेर मलाई सबैले चिन्छिन् भन्ने लाग्दैन । चिने देखि त राम्रो हो । तर विस्तारै म नायिकाकै रुपमा चिनिन चाहन्छु ।

कस्ता चलचित्रमा काम गर्न मन छ ?
मलाई क्वान्टिट भन्दा पनि क्वालिटि काम गर्न मन छ । राम्रो कलाकार भनेर चिनिन मन छ । सोसियल मुभिहरु आओस् । त्यस्तो चलचित्रमा काम गर्न म आतुर छु ।