Mansara

चर्चामा 'समर लभ', दर्शकको मन जित्दै गीत र ट्रेलर

२०७५ माघ १५
चर्चामा 'समर लभ', दर्शकको मन जित्दै गीत र ट्रेलर

सामाजिक सञ्जालको प्रयोग जति नै भढ्दा पनि पछिल्लो क्रममा नेपाली पाठकहरुमा पठनिय प्रवृति बढ्दो छ । त्यसो त युवापुस्ता लक्षित उपन्यासहरु समय- समयमा बाहिर आउँदै गर्दा त्यसले पाठकहरुमा पठनिय रुची थप बढाएको एकातिर छ भने पुस्तक लेखेर पनि देशमै केहि गर्न सकिन्छ भन्ने प्रमाण पछिल्लो पुस्ताका लेखकहरुबाट प्रस्तुत हुँदै आइरहेको छ । जसबाट चलचित्र र साहित्यसँग जोडिन अभिरुची राख्नेलाई पछिल्लो पुस्ताका लेखकहरु खम्बा बनिरहेका छन् ।

उल्लेखित पंङ्तीहरुलाई स्थापित गर्ने पछिल्लो पुस्ताका लेखकहरु मध्ये श्रेय जाने एउटा नाम हो सुबिन भट्टराई । सुबिनले ६ बर्ष पहिले बजारमा ल्याएको 'समर लभ' उपन्यासले ऐतिहासिक लोकप्रियता कमायो । सुबिन भन्छन्, 'आजका दिनसम्म पनि पुस्तकको विक्री वितरणमा र यसप्रति पाठकहरुको आकर्षणमा कुनै कमी आएको छैन ।' 'समर लभ'मा मुख्य पात्र अतित, साया र सुस्मिता अनि लेखक स्वयंमले निभाएको भुमिकाभित्र आफुलाई पाउने हरेक पाठकले अब भने चलचित्रको पर्दामै आफुलाई भेट्न पाउँदैछन् । 'समर लभ'को कथामाथी तयार भएको चलचित्र प्रदर्शनको लागी तयार छ ।

माघ २५ बाट प्रदर्शनमा आउन लागेको चलचित्रका पात्रमा दर्शकले अनि उपन्यास पढ्ने पाठकले आफैलाई भेट्नसक्ने कुरा निर्देशक मुस्कान ढकालले यसअघि देखि बोल्दै आइरहेका छन् । सार्वजनिक प्रचार सामाग्रीहरुले चलचित्र बजारमा लोकप्रियता बढाउँदो छ । सार्वजनिक ट्रेलर १ मिलियन भ्यूजतर्फ अघि बढ्दै छ भने पुष्पन प्रधान संगीतबद्ध 'साया' बोलको सार्वजनिक गीत उत्तिकै मात्रामा हिट छ । पछिल्लो क्रममा अग्रपङ्ग्तिमा आएको सामाजिक सञ्जाल 'टिकटक'मा हजारौँले 'समर लभ' चलचित्रको ट्रेलरमा समावेश डायलगहरुलाई प्रयोग गरिरहेका छन् । प्रेमभाव बोल्ने डायलगहरु 'टिकटक'मा हिट लिस्टमा छन् । जुन कुराहरुले पनि पछिल्लो पुस्ताका दर्शकमाथ चलचित्रले आफुलाई 'अवेटेड' बनाउँदै लगेको अनि लोकप्रिता बढाएको प्रमाण बोल्छ ।

चलचित्रमा अतितको भुमिकामा आशिष पिया रहँदा सायाको भुमिकामा रेवती क्षेत्री र सुस्मिताको भुमिकामा नम्रता सापकोटा छन् भने न्यारेटर (लेखक)को भुमिकामा सुरजसिंह ठकुरी छन् । चलचित्रलाई लिएर निर्देशक ढकाल भन्छन्, 'समर लभ पुस्तकलाई पाठक तथा दर्शकले जति माया दिनु भएको छ र यसको भाव बुझ्नुभएको छ, सोहिअनुसार कथाको मर्म मर्न दिएको छैन, पुस्तक पढ्दाको मज्जालाई पर्दामा थप अब्बलताका साथ उतारेका छौँ ।' किताब र चलचित्र फरक रहँदा पढेकै कुरालाई पर्दामा ढाल्दा फिल्मी शैलीको प्रयोगमा केहि थपघट हुनसक्ने कुरा निर्देशक ढकाल जोड्छन् । त्यसो त नेपाली चलचित्र मेकिङमा मुख्यतः कमजोरी मानिने पाटो स्कृप्ट हो । यो पटक लाखौँ पाठक, समालोचक तथा समिक्षकले उत्कृष्ट बोलिसकेको खुला स्कृप्टमाथी चलचित्र बन्दा निर्देशकमाथी पटकथा (स्कृनप्ले) राम्रो बनाउने चुनौती पनि छ । 

‘मलाई थाहा छ, नेपालमा आख्यानमाथि बनेका फिल्म राम्रो चलेका छैनन्। अझै भनूँ, पुस्तकलाई न्याय गर्ने गरी पनि बनेका छैनन्,’ निर्देशक ढकालले थपे, ‘तर यो चलचित्रलाई त्यस्तो आरोप नलागोस् भनेर म सचेत छु।’ खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेको यो चलचित्रमा विनोद अधिकारी कार्यकारी निर्माता र एकराज तामाङ लाइन प्रोड्यूसरमा छन् । चलचित्र टिम अघिल्लो हप्तामात्रै मोफसलका दर्शकमाझ साक्षात गर्दै पुर्व पश्चिम यात्रा सकाएर काठमाडौं फर्केको थियो । यतिबेला राजधानी केन्द्रित प्रचारमा 'समर लभ' टिम लागिरहेको छ ।

Mahajatra