Mahajatra

‘ए मेरो हजुर ३’का निर्माता भन्छन् – मैले डेरामा लिएको कोठा कसरी अरुलाई छोडौं

२०७५ चैत्र १४
‘ए मेरो हजुर ३’का निर्माता भन्छन् – मैले डेरामा लिएको कोठा कसरी अरुलाई छोडौं

एक त वर्षमा झण्डै सय चलचित्र रिलिज हुन्छन् । त्यसमा केही चलचित्र मात्र आशातित हुन्छन् । आशातित भनिएका अनि विग बजेटका चलचित्रले प्रदर्शनका लागि सकेसम्म चाडपर्व वा छुट्टीको समय रोज्ने गर्छन ।

यसअर्थ चाडपर्व वा छुट्टीको समयमा ठुला भनिएका चलचित्रहरु एक आपसमा जुध्नु नौलो कुरा होइन । यसपटक पनि त्यस्तै भएको छ । अहिले चर्चा चैत्र २९ लाई लिएर भइरहेको छ । उक्त मितिमा दुई चलचित्र एकसाथ रिलिज हुँदैछन् । बिग बजेटका अनि चलचित्र क्षेत्रलाई चलायमान गराउन सक्ने भनि आँकलन गरिएका चलचित्रहरु एकसाथ रिलिज गर्न हुँदैन भनेर प्रयास गरिनु अस्वभाविक पनि होइन । तर, यस्ता धेरै प्रयासुहरु असफल हुने गरेका छन् ।

चैत्र २९ मा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शन हुँदैछन् । केही व्यक्तिहरुले दुवै पक्षलाई मिलाएर उक्त मितिमा यि दुई मध्ये एकलाई प्रदर्शनको वातावरण मिलाउन पनि खोजेका थिए । तर, कुरा मिलेन । छायाँकनमा जानु अगावै सार्वजनिक भएको ‘ए मेरो हजुर ३’ को फस्टलुक पोस्टरमा पनि प्रदर्शन मिति चैत २९ उल्लेख थियो ।

यसैबिच ‘ए मेरो हजुर ३ का निर्माता सुनिल कुमार थापाले आफुले अनमोल केसीलाई अनुबनध गरेकै दिन उक्त मितिमा चलचित्र प्रदर्शन गर्ने घोषणा गरेको भन्दै अर्को चलचित्रसँग जुध्न नगरेको स्पष्ट पारेका छन् । आफुलाई चलचित्र क्षेत्रका केही अग्रजहरुले किन जुधाएको भन्दै प्रश्न गरेको बताउँदै उनले प्रति प्रश्न गरे – ‘मैले कसरी जुधाएँ ? एक वर्ष अगाडि मैले हालेको डेट । अनि उहाँहरुले असोज ५ मा प्रदर्शन गरेको भनेको चैत्र २९ मा ल्याएर हाल्नु हुन्छ । अनि मैले जुधाएँ कि उहाँहरुले जुधाउनु भयो ।’

चलचित्र जुध्दा दुबैलाई घाटा भएको बताउँदै उनले आफुले सिंगल रिलिजका लागि पटक पटक प्रयास गरेको समेत जनाएका छन् । आफुले मिलेर जान धेरै बिन्ति गरेको भन्दै उनले भने – ‘तर, उहाँहरुले मलाई नै सर्न अग्रह गर्न थाल्नुभयो । अब मैले डेरामा लिएको कोठालाई तपाई बस्नुस् भनेर म कसरी छोडेर जाँउ ।’