Mansara

‘पासवर्ड’को अन्तर्राष्ट्रिय बजारका लागि सन्नि लियोनी – बिक्रम जोशी, कलाकार

२०७६ भाद्र २५
‘पासवर्ड’को अन्तर्राष्ट्रिय बजारका लागि सन्नि लियोनी – बिक्रम जोशी, कलाकार

चलचित्र ‘पासवर्ड’का निर्माता तथा कलाकार बिक्रम जोशीले बलिउड अभिनेत्री सन्नी लियोनीलाई यसअघिको चलचित्र ‘ह्याप्पी डेज’ मै खेलाउने योजना रहेको बताएका छन् ।

टिममा छलफल गर्दा सन्निलाई लिदा चलचित्रको बजेट भारी हुने भएपछि ‘ह्याप्पी डेज’मा काम नगरिएको बिक्रमको भनाई छ । उक्त चलचित्रकै समयमा सन्निसँग एक चरण कुरा भएको र उनी पोजेटिभ भएका कारण पनि ‘पासवर्ड’मा काम गर्न सहज भएको बिक्रम बताउँछन् । ‘पासवर्ड’ निर्माणको कुरा अघि बढेपछि पुनः सन्निसँग कुरा गरि टिमअप गरिएको बिक्रमको भनाई छ ।

त्यसो त केहीले सन्नि लियोनीलाई प्रचारका लागि मात्र चलचित्रमा समेटिएको आशंका पनि गरिरहेका छन् । तर, बिक्रम त्यो कुरा मान्न तयार छैनन् । बरु उनी जोडिदा हुने प्रचारलाई मुनाफाको रुपमा लिन्छन् ।

आफुले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको पहुँच पुर्याउने गरि काम गरेको भन्दै बिक्रमले सोही उद्देश्य पूर्तिका लागि विदेशी कलाकारसँग टिमअप गरेको बताउँछन् । चर्चित विदेशी कलाकारसँग टिमअप गर्दा त्यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको पहुँच विस्तार गर्ने उनको विश्वास छ ।

विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने भनेर मात्र नहुँने भन्दै उनले त्यसको लागि अन्तर्राष्ट्रिय कलाकारलाई नेपाल भित्र्याउने हिम्मत पनि राख्नु जर्ने बताएका छन् । चलचित्रमा सन्नि लियोनीको विशेष भुमिका रहेको भन्दै उनले उक्त भुमिका बारे भने तत्काल केही बताउन नमिल्ने जनाए । दर्शकले हलमै गएर उक्त कौतुहलता मेटाउने आशा उनको छ ।

नेपालमा भाद्र २७ मा प्रदर्शन हुने ‘पासवर्ड’ त्यसको दुई साता पछाडी सेप्टेम्बर २७ बाट अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आउने छ । निर्माण टिमले १२ देशमा चलचित्र प्रदर्शन हुने जनाएको छ ।

एक्सन, थ्रीलर र सस्पेन्स जनराको चलचित्रलाई मनोरञ्जनको पूर्ण प्याकेज भनिएको छ । चलचित्रको ट्रेलर हेर्दा नेपालबाट चोरी भएर विदेश पुगेका मुर्ति फिर्ता गर्ने संघर्ष को कथा चलचित्रले भन्न खोजेको देखिन्छ । नेपालबाट मुर्ति चोरेर विदेश लैजाने कुरालाई बिक्रम यथार्थ मान्छन् । पटक पटक यस्ता खालका समाचार आइरहेकै हुन्छन् भन्दै उनले ‘पासवर्ड’ यस्तो कुनै सत्य घट्नामा आधारित चलचित्र भने नभएको बताउँछन् । यो विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको भएपछि चलचित्र तथ्यपरक नभएको उनको भनाई छ । यद्यपी यस्ता जघन्य अपराधको विरुद्दमा लड्नु पर्छ भन्ने संदेश चलचित्रले दिएको उनी बताउँछन् ।

चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय रहेको छ । धनि बाउको एक व्यापारी छोराको भूमिकामा बिक्रमले अभिनय गरेका छन् । जो आफ्नो देशप्रति, इमान्दार र बफादार छ । मातृभुमिको समस्यासँग सदैव लड्न तयार एक देशभक्ति युवकको भूमिकामा उनलाई देख्न सकिनेछ ।

सम्राट बस्नेतको निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको चलचित्रको कथा सिमा गुरुङले लेखेकी छन् ।

अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी रहेका छन् । यस्तै युकेको लागि कार्यकारी निर्माता मोहित छब्रा, अजित के आर थापा सह निर्माता र सनिश खकुरेल लाइन प्रोड्युसर हन् ।

Mahajatra