Mahajatra

मलाई स्टारडमले थिच्यो – सुशिल श्रेष्ठ

२०७६ असोज २९
मलाई स्टारडमले थिच्यो – सुशिल श्रेष्ठ

अभिनेता सुशिल श्रेष्ठले आफु स्टारडमले थिचिएको जनाएका छन् । ५ चलचित्रमा काम गरिसकेका सुशिल अभिनित ३ चलचित्र प्रदर्शन भइसकेका छन् भने २ चलचित्र प्रदर्शनको तयारीमा रहेका छन् ।

सन् २०१५ को चलचित्र ‘होस्टेल रिटन्र्स’बाट डेव्यु गरेका सुशिलले शुरुवातमै सफलता पाए । त्यसो चलचित्रको सफलतासँगै सुशिलको चर्चा चुलियो । उनलाई धेरैले राइजिङ स्टारको ट्याग समेत दिए । तर, बिडम्बना त्यसपछि सुशिलले काम गरेका दुई चलचित्र लगागल असफल भए । ‘सायद २’ र ‘कारखाना’ फ्लप भएपछि सुशिलमा निराशा छायो । फलत्ः उनले चलचित्र नै छोड्ने निर्णय गरेका थिए ।

बुधबार राजधानीमा सिमित पत्रकारहरुसँग गफिदै गर्दा सुशिलले पहिलो चलचित्रबाट प्राप्त स्टारडमले आफुलाई थिचेको बताए । पहिलो चलचित्रले सफलताको शिखरमा पुर्यायो तर, त्यसपछि लगातार फ्लप हुँदा चलचित्र क्षेत्रनै आफ्ना लागि होइन रहेछ भन्ने सम्म लाग्न थाल्यो । ‘विस्तारै माथी चढेको भए असफलतामा निराश हुन पर्ने थिएन होला तर, एक्कै पटक माथी चढेर एक्कै पटक लत झर्दा गाह्रो हुँदो रहेछ ।’ सुशिलले भने मलाई पनि त्यही भयो ।

शारिरिक बनाबट र लुक्सका कारण चर्चामा आएका सुशिललाई एकदिन ‘लभ डायरिज’बाट अफर आयो । चलचित्रमा काम नगर्ने सोचमा पुगिसकेका सुशिलले शुरुमा त्यो प्रस्ताव स्वीकार्न सकेनन् । तर, स्कृप्ट पढ्दा आफ्नै लागी जस्तो लाग्यो । त्यसैले काम गरे । त्यही विचमा ‘बादशाह जुट’बाट पनि अफर आयो । यतिबेला भने सुशिल चलचित्रमै करियर बनाउने निर्णयमा पुगि सकेका थिए । त्यसैले यो चलचित्रको स्कृप्ट पढे । स्कृप्ट पढ्दा उनलाई लाग्यो यस्तो क्यारेक्टर त न मैले हिजो पाएको थिए न त भोलि नै पाउछु । लभस्टोरी चलचित्रमा पनि लभरव्यायसँगै एक्सन भुमिकामा देखिएका सुशिलले ‘बादशाह जुट’को क्यारेक्टर आफुलाई मन परेकै कारण आफुले काम गरेको बताए ।

सुशिल चलचित्रमा पत्रकारको भुमिकामा देखिएका छन् । आफुलाई बादशाह ठान्ने दुई पात्रको कथा भन्ने चलचित्रको एक महत्वपूर्ण पात्र हो सुशिलको । जुन चलचित्रलाई लिएर सुशिल आशाबादी देखिएका छन् । चलचित्र हो सफल असफल जे सुकै हुन सक्छ । तर, यसपटक चलचित्र असफल भयो भनेपनि सुशिललाई मनोबैज्ञानिक असर कम पर्नेछ । एउटा कलाकारलाई कुनै पनि चलचित्र असफल हुँदा असर त गर्छ नै तर, सुशिलले बुझिसकेका छन् कलाकारका कारण मात्र चलचित्र सफल हुने वा असफल हुने भन्ने होइन । उनलाई लाग्छ चलचित्र व्यवसायिक र समिक्षात्मक दुवै रुपमा सफल होस् । आफुले कामको तारिफ पायोस्, निर्माताले पैसा कमाउन । ‘बादशाह जुट’को टिम राम्रो भएको, आफु लगायत सबैले निकै मेहनत गरेको र चलचित्र राम्रो बनेका कारण पनि दर्शकको मन जित्नेमा सुशिल आशाबादी छन् ।

कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा सुशील श्रेष्ठ, आमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ । भने, प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन ।

मुम्बईमा चलचित्र मेकिङ्ग पढेर आएका जोनी सिंह राणाले निर्देशन गरेको चलचित्रलाई हर्क बहादुर कुँवर र भोज राज श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, उत्तम हुमागाईको छायाँकन, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत र दिर्घ खड्काको सम्पादन रहेको छ ।