‘तेल भिसा’को गीत ‘कति रमाइलो’ सार्वजनिक
चलचित्र ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा मुख्य अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ ।
शंकर घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले श्रृंखलाबद्ध रुपमा प्रचार सामाग्रीहरु पोस्टर तथा गीतहरु सार्वजनिक गरिरहेको छ । चलचित्रको यसअघि केही पोस्टर तथा ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीत सार्वजनिक गरिएका थिए । मंगलबार सार्वजनिक गरिएको तेस्रो गीत ‘कति रमाइलो’ अमेरिकामा खिचिएको हो । अञ्जु पन्त र आशिष अविरलको गायन रहेको गीतमा एक नारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ ।
शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अमेरिकामा रहँदै आएका कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर प्रस्तुत छन् । उनीहरुसँगै चलचित्रका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेलाई पनि भिडियोमा फिचर्ड छन् ।
चलचित्रको गीत रिलिज कार्यक्रममा ऋचाले १० वर्षपछि नेपाली चलचित्रमा काम गर्दा एकदमै उर्जा महसुस भएको अनुभव सुनाइन् । उनी भन्छिन्, ‘चलचित्र नखेल्दा वा नबनाउँदा अक्सिजनको कमी हुने वा बाँच्नका लागि दिन कम हुने त होइन । तर, आफूलाई मन परेको काम गर्दा एकदमै उर्जा आउने रहेछ । १० वर्षपछि चलचित्र गर्दा त्यो महसुस गरेकी छु । यस्तो लाग्यो मेरो झुकाव र लगाव चलचित्र प्रति नै रहेछ ।’
‘तेल भिसा’को छायांकन पश्चात नाटक खेल्न अमेरिका पुगेकी अभिनेत्री वर्षा राउत पनि गीत रिलिज कार्यक्रममा उपस्थित थिइन् । उनी अमेरिकामा मञ्चन भइरहेको नाटकको कामलाई केही समयलाई स्थगित गर्दै चलचित्रको प्रचार र दशैं तिहार मनाउन नेपाल फर्केकी हुन् । भाइटीकाको भोली पल्टै उनी नाटक खेल्न फेरी अमेरिका उड्ने तयारीमा छिन् । यो हप्ता उनी चलचित्रको प्रचारमा व्यस्त हुने तालिका रहेको गीत रिलिज कार्यक्रममा जानकारी दिइन् ।
आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ । चलचित्रमा विपिनले बुबा र छोराको गरी दोहोरो भूमिका निभाएका छन् ।
वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । चलचित्रको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् ।चलचित्रमा सुशन प्रजापतिको छायांकन छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev