Mansara

‘भिलेन’मा मायाको कथा !

२०७५ पौष २२
‘भिलेन’मा मायाको कथा !

पौष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘भिलेन’ले आफ्नो प्रचारलाई तिब्रता दिएको छ । एक्सन लभस्टोरी भनिएको चलचित्रमा निखिल उप्रेति, सिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ । कपिल आफै चलचित्रका प्रस्तुतकर्ता भएकोले बिसुद्ध कलाकारको कुरा गर्दा प्रचारमा भने सिल्पाको मात्र साथ मिलेको छ ।

निशा अधिकारीलाई निर्माण पक्षले प्रचार सामग्रीमा समेत समेटेको छैन भने निखिल उप्रेति प्रचारमा देखिएकै छैनन् । चलचित्र आगामी शुक्रबार प्रदर्शनमा आउँदै छ तर, निखिलले चलचित्रबारे अहिले सम्म एक शव्द बोलेको सुनिएको छैन । निर्माण पक्ष भने निखिलको समय अभावले प्रचारमा आउन नसकेको बताउँछ । प्रचारमा हिडेका छन् त कपिल, सिल्पा अनि निर्देशक देबेन्द्र पाण्डे । एक्सन जनाराका चलचित्र रुचाउने दर्शकका लागि यसको प्रोमोले आकर्षण बढाएको छ । निखिलको एक्सन अवतार दमदार देखिन्छ । यद्यपी नायिका सिल्पा पोखरेल चलचित्रले मायाको कथा भन्ने बताउँछिन । उनका अनुसार चलचित्रमा सबै कलाकारको उपस्थिति बलियो छ । यो नारी प्रधान वा पुरुष प्रधान चलचित्र भने होइन । आफुले चौधरी समुदायको युवतीको भुमिका निर्वाह गरेको भन्दै सिल्पा आफ्नो भुमिकालाई लिएर समेत उत्साहित देखिएकी छिन । आफ्ना लागि समेत नयाँ भुमिका भएको भन्दै उनले पात्रलाई न्याय गर्न १०० प्रतिशत दिने प्रयास गरेको बताइन । आफु मात्र नभएर टिमका सबै सदस्यको काम उत्तिकै राम्रो भएको सिल्पाको भनाई छ ।

चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन, मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन, बसन्त सापकोटा, बाबु गिरि र लालकुमार बरालको संगीत, शुक्रराज शाहको एक्सन र दीपेन्द्र तिमिल्सिना तथा दीपक श्रेष्ठको कोरियोग्राफी रहेको छ । कपिल खत्री प्रस्तुतकर्ता रहेको चलचित्रलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता तथा राजकुमार श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् ।