निर्देशनमा डेब्यु गर्दै लेखक सुबेदी, ‘यानीमाया’ निर्माणको घोषणा

२०८२ बैशाख १
निर्देशनमा डेब्यु गर्दै लेखक सुबेदी, ‘यानीमाया’ निर्माणको घोषणा

लेखक विकास सुबेदीले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । विकासको निर्देशनमा बन्ने चलचित्रको नाम ‘यानीमाया’ रहने छ । नयाँ वर्षको अवसर पारी सोमबार चलचित्र निर्माणको औपचारिक जानकारी दिइएको हो ।

चलचित्रलाई अभिनेता पल शाहको कम्पनी पल शाह फिल्म्सले निर्माण गर्ने छ । निर्देशक सुबेदी र निर्माता शाह विचमा औपचारिक सम्झौता भइसकेको छ । निर्देशक सुबेदीकै लेखन रहने चलचित्र पारिवारिक ड्रामामा आधारित हुने जनाइएको छ । असारबाट छायाङ्कन सुरु हुने भनिएको चलचित्रमा को–को कलाकारको अभिनय रहने भन्ने खुलाइएको छैन ।

पत्रकारिता पृष्ठभूमिका सुबेदीले थुप्रै म्यजिक भिडियोको निर्देशन गरेका छन् । क्लासिक, पर्व, प्रसाद जस्ता चलचित्रमा एसोसियट निर्देशकका रुपमा काम गरेको अनुभव पनि उनीसँग छ । सुबेदीले प्रकाश, पुजार सार्की र महाभोजको लेखन स्कृप्ट लेखेका छन् । चलचित्र लेखनमा आउनु अघि उनले थुप्रै डकुमेण्ट्रीहरुको निर्माण तथा निर्देशन समेत गरेका छन् । दुई दशक लामो मिडिया र डेढ दशक लामो रजतपट यात्राको अनुभवलाई उनले निर्देशनमा उपयोग गर्ने जनाएका छन् । सुबेदीले पीम नेपाल फिल्म फेष्टिवल २०२२, नेपाल ग्रामिण चलचित्र महोत्सव २०२३, स्पाइनी ब्याबलर इन्टरनेशनल फिल्म फेष्टिवल २०२३ र डि सिने अवार्ड २०२४ मा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका छन् ।