Mansara

१८ वर्ष पछि ‘चट्ट रुमाल’, दोहोरिएला त पहिलेको क्रेज

२०७५ फागुन १७
१८ वर्ष पछि ‘चट्ट रुमाल’, दोहोरिएला त पहिलेको क्रेज

पछिल्लो समय पहिलेका चर्चित गीतलाई रिमेक गरेर चलचित्रमा समावेश गर्ने क्रम बढ्न थालेको छ । यही क्रममा १८ वर्ष अघिको चलचित्र ‘आफ्नो मान्छे’मा समावेश ‘चट्ट रुमाल’लाई पनि रिमेक गरेर ‘यात्रा’मा समावेश गरिएको छ ।

जुन गीत आउने मंगलबार सार्वजनिक गरिने चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराईले जानकारी दिएका छन् । ‘आफ्नो मान्छे’का निर्माता रहेका केशबले ‘यात्रा’ निर्माणमा शुशिल पोखरेल लगायत अन्य निर्मातासँग सहकार्य गरेका हुन् । ‘आफ्नो मान्छे’ तत्कालिन समयको निकै सफल चलचित्र हो । अनि यो गीत पनि हिट भएको थियो । अहिले पनि यो गीतको क्रेज घटेको छैन ।

यात्रामा समावेश गरिएको रिमेक भर्सनलाई पनि पहिलाको जत्तिकै स्तरिय बनाउने कोसिस गरेको निर्देशक सम्राट शाक्यले जनाएका छन् । समय सापेक्ष रुपमा केही परिवर्तनहरु स्वभाविक भएपनि चर्चित गीत भएकोले दर्शकको अपेक्षा उच्च देखिन्छ । जसका कारण निर्माण पक्षलाई चुनौति पनि थियो । पहिलाको गीत हेरेका अनि सुनेकाहरुले त्यो भन्दा कम महशुस गर्न भएन । जुन चुनौतिलाई मिट गर्न आफ्नो टिम सफल भएको निर्देशकको दाबी छ । यद्यपी गीत रिलिज पछि मात्र निर्देशकको दाबी कति सत्य छ भन्न सकिन्छ ।

चलचित्रको कथा अनुसार कलाकारहरु शहर देखि गाउ पुगेका हुन्छन् । सोही बेला गाउमा आयोजित एक कार्यक्रममा यो गीत बज्छ । गाँउको परिवेश थियो त्यसैले निर्माण पक्षले लोक गीतको खोजी गर्यो । निर्देशक भन्छन् – ‘टिममा छलफल भयो अनि यो गीत नै राख्ने तय भयो ।’ ओरिजिनल गीतको लोकप्रियता क्यास गर्न भन्दा पनि आफुहरुलाई आवश्यक परेको शैलीको गीत यही नै उपयुक्त लागेको उनको भनाई छ ।

गीतमा सलिनमान बनिया, सलोन बस्नेत, मल्लिका महत, जान्बी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य र विशाल सापकोटाले नृत्य गरेका छन् । ओरिजिनल भर्सनमा भने श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहको नृत्य रहेको थियो । गीतको बारेमा कुरा गर्दै गर्दा नायक सलिनमान पनि सँगै थिए । निर्देशक शाक्यले उनलाई नृत्यमा पोख्त हेको भनिरहदा सलिन भने आफुलाई नाच्न गाह्रो लाग्ने बताउँदै थिए । तथापी उनले निकै प्राक्टिस गरेका कारण गीतलाई आफुले न्याय गरेको जिकिर गरे । ओरिजिनल भर्सनमा नाचेका श्रीकृष्णको उचाईमा आफु नपुगेको भएपनि आफ्नो तर्फबाछट बेष्ट दिएको उनको भनाई छ । उनले जसरी यो गीत भन्दासाथ पुरानो पुस्ताले श्रीकृष्णलाई सम्झन्छ त्यसैगरि अहिलेको पुस्ताले आफुलाई सम्झने समेत दाबी गरे ।

त्यसो त यसअघि सार्वजनिक गरिएको गीत पाँच पंक्षिले अपेक्षाकृत सफलता पाउन सकेन । सलिन ‘चट्ट रुमाल’ले त्योे गीतलाई समेत बुष्ट गर्ने बताउँछन् । यो गीत सफल हुन्छ भन्ने कुरामा ढुक्क देखिएका सलिनले दर्शकको मन जित्ने विश्वास समेत राखेका छन् ।

राजन इशानले रि–ऐरेन्ज गरेको रिमेक भर्सनमा ध्रमेन्द सेवान र मेलिना राईको स्वर रहेको छ । शम्भुजित बासकोटाको संगीत र बाबुराम दाहालको शव्द रहेको गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन । चलचित्र चैत्र २९ गतेबाट प्रदर्शन हुनेछ । कोटकी कालिका देवीफिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशबसँगै चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता, सुशील पोखरेल निर्माता, सर्जुमान लिगल कार्यकारी निर्माता र बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताका रुपमा रहेका छन् । चलचित्रमा संजय लामाको छायाँकन, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन रहेको छ ।

Mahajatra