२०८१ सालमा नेपाली चलचित्रः कथामा बिवधता, ब्यवसायमा ऐतिहासिक सफलता

नेपाली चलचित्र क्षेत्र २०८१ सालमा फेरि एक पटक बहस, परिवर्तन र प्रयोगको केन्द्रमा रह्यो । यो वर्ष कुल ५९ चलचित्र प्रदर्शनमा आए । सिर्जनात्मक रुपमा धेरै चलचित्रले उत्कृष्ट समिक्षा नपाएपनि प्रविधि, व्यावसायिकता र सामाजिक प्रभावका विविध आयामहरुमा उल्लेखनीय गतिशीलता देखियो । कथावस्तुमा देखिएको विविधताका विच मौलिक कथालाई दर्शकहरुले रुचाए । व्यवसायिक रुपमा भने ऐतिहासिक रेकर्ड पनि कायम गर्दै यो वर्ष चलचित्र क्षेत्रका लागि विशेष रह्यो । यसवर्ष झण्डै दर्जन चलचित्रले व्यवसायिक सफलता हात पारे । भलै केही निर्माताहरुले चलचित्र चलाउन तथा हिट देखाउन आफैले टिकट किनेको समेत स्वीकारे ।
समग्रमा भन्दा यो वर्ष नेपाली चलचित्र उद्योग न त पूर्णतः सफल रह्यो, न त पूर्णतः असफल । केही चलचित्रहरु सृजनात्मक रुपमा अब्बल थिए, तर बक्स अफिसमा खासै कमाल देखाउन सकेनन् । यता केही चलचित्रले समिक्षकहरुबाट सकारात्मक प्रतिक्रिया नपाएपनि व्यवसायिक रुपमा सफलता पाए । चलचित्रकर्मीका आन्तरिक कमजोरी, चलचित्र निर्माणमा नविनतम् सोच, स्पष्ट नीति–नियमको अभाव यस वर्ष पनि खड्कियो । अपवादलाई छोडेर हेर्दा नेपाली चलचित्रले ग्लोबल मार्केटमा पनि आफ्नो झण्डा प्रभावकारी रुपमा फहराउन सकेन ।
कथावस्तुमा बिविधता
यस वर्ष चलचित्रको कथावस्तुमा विविधता देखा पर्यो । चलचित्रमा परम्परागत कथा मात्र नभएर, वर्गिय, जातीय र क्षेत्रीय (भौगोलिक) मुद्धाहरुपनि देखिए । यसपटक चलचित्रमा पारिवारिक कथा, प्रेम कथा र हाँस्य रसका कथा मात्र होइन सामाजिक द्वन्द्व, सामाजिक न्याय, आर्थिक समानता र मानसिक स्वास्थ्यका विषयले पनि कहि न कतै स्थान पाए । यद्यपी यस्ता गम्भिर विषय पनि चलचित्रकर्मीले हल्ला फूल्का रुपमा प्रस्तुत गरेको भन्दै आलोचना खेप्नु पर्यो ।
यसवर्ष प्रस्तुत केही विषयले चलचित्रलाई समाजसँग निकट देखायो, केही कथाले वैचारिक बहस सुरु गरायो, र केही कथाले चलचित्रलाई अन्तर्राष्ट्रिय फेष्टिभलहरुमा समेत बलियो उपस्थिति बनायो । केही चलचित्र लैङ्गिक दृष्टिकोणबाट पनि निर्माण भए, जसले पितृसत्तात्मक सोचमाथी प्रश्न उठाए । केही चलचित्रले स्थानीय कथा भन्न खोजे, केही चलचित्रले भने परम्परा र आधुनिकताको द्वन्द्वलाई चित्रण गरे ।
बोक्सीको घर, अग्नी दहन, पूजार सार्की, वसन्त, नमेटिएको घाँऊ, सारङ्ग, गाँउ आएको बाटो, शाम्वाला, सानो संसार, आँखा, पूर्ण बहादुरको सारङ्गी, तेल भिषा, एञ्जिला, राजागंजजस्ता चलचित्रले कुनै न कुनै रुपमा सामाजिक मुद्धालाई उठाए । भलै धेरै चलचित्रले प्रभावकारी रुपमा आफ्नो कथा भन्नै सकेनन् ।
नयाँ कलाकारको उदय
वर्ष २०८१ मा थुप्रै नयाँ कलाकारले चलचित्र क्षेत्रमा डेब्यु गरे । यद्यपी हातका औलामा गन्न सकिने कलाकार मात्र स्थापित भए । यि मध्ये पनि केही कलाकारहरु भने सिङ्गो चलचित्रलाई नै काँधमा बोक्न सक्ने गरि दरिलो उपस्थिति जनाउन सफल भए ।
थुप्रै चलचित्रमा सहायक कलाकारको रुपमा काम गरेका विजय वराल यसवर्ष निकै सफल देखिए । विजय अभिनित चलचित्र पूर्ण बहादुरको सारङ्गीले घरेलु बक्स अफिसमा ६० करोड ८० लाख भन्दा बढीको ब्यापार गर्दै ऐतिहासिक रेकर्ड राख्यो । यता अभिनेत्री केकी अधिकारी पनि यस वर्ष सफल अभिनेत्री ठहरिइन । उनी अभिनित चलचित्र बोक्सीको घरले बक्स अफिसमा १० करोड भन्दा बढीको व्यापार गर्यो । व्यवसायिक रुपमा उत्कृष्ट १० मा नपरे पनि मुनाफाका हिसाबले बोक्सीको घर अब्बल रह्यो । यि दुवै चलचित्रको लगानी १ करोड आसपास भएकोले लगानीका आधारमा निर्मातालाई मुनाफा निकै मिल्यो ।
यस्तै नव कलाकारको कुरा गर्दा अभिनेता बिराज भट्टका सुपुत्र समिर भट्टले बक्स अफिसमा सफलताको झण्डा गाडे । उनको डेब्यु चलचित्र १२ गाउँ व्यवसायिक रुपमा सफल मात्र भएन, समिरलाई जवरजस्त रुपमा चलचित्र क्षेत्रमा स्थापित गर्न पनि सफल रह्यो । चलचित्र हलमा मात्र होइन सामाजिक सञ्जालमा समेत उनको लोभ लाग्दो क्रेज देखियो । यता अभिनेता दिलिप रायमाझीकी सुपुत्री दिब्या रायमाझीले पनि यसै वर्ष चलचित्रमा डेब्यु गरिन । नव अभिनेत्रीका रुपमा दिब्याको पनि चर्चा निकै भयो । यद्यपी उनी अभिनित चलचित्रले उनको जवरजस्त क्रेज स्थापित गर्न भने सकेन ।
यि दुई स्टार किड्स बाहेक सामाजिक सञ्जालमा कूल ब्यायका रुपमा परिचित पारस बम ठकुरीले नव अभिनेताका रुपमा सफलता पाए । उनी अभिनित चलचित्र होस्टेल ३ प्रदर्शन भइरहदा हलमा देखिएको उनको क्रेजले कूल ब्यायपनि सफल नव अभिनेतामा दरिएका छन् ।
वास्तवमा यस वर्ष पूर्ण बहादुरको सारङ्खी मार्फत विजय बराल र बोक्सीको घर मार्फत केकी अधिकारीले कलाकारले कथाको गम्भिरता र गहिराई बुझेर अभिनय गर्न सकेमा सफल भइन्छ भन्ने सन्देश दिएका छन् ।
चाडपर्वमा प्रदर्शनको लर्को
क्यालेण्डरमा शनिबार बाहेक अन्य दिनमा पनि सार्वजनिक विदा देख्यो कि त्यो हप्ता आफ्नो चलचित्र चलाउन निर्माताहरु लालायित हुन्छन् । अझ दशैं तिहार जस्ता चाडहरुमा लालायित नहुने कुरै भएन । यस वर्षपनि सबैभन्दा बढी चर्चामा रह्यो दशैंको डेट । दशैंको अवसर पारी असोज १७ गते १ र असोज २४ गते ३ वटा चलचित्रहरु प्रदर्शन भएका थिए । २४ गते ३ चलचित्र रिलिज हुँदा बेहुली फ्रम मेघौली एक हप्तामै खुम्चिन पुग्यो । यता २४ गते रिलिज भएका मध्ये चलचित्र छक्का पञ्जा ५ र १२ गाउँको चुपवामा अर्को चलचित्र ज्वाई साहेव पर्यो । यसले अपेक्षाकृत शो नै पाउन सकेन । बरु चलचित्रका पण्डितहरुले चल्दैन भन्दै हिडेको १२ गाउँको ब्यापार ३ चलचित्रमा सबैभन्दा माथी देखियो । १२ गाउँले झण्डै २० करोडको व्यापार गर्दा अघिल्ला केही श्रृखलामा व्यवसायिक सफलताको रेकर्ड राखेको छक्का पञ्जाको यो सिरिज जम्मा १५ करोड २० लाखमा खुम्चिन पुग्यो ।
यस्तै महाशिवरात्री पर्व पनि यसपटक चलचित्रकर्मीको आकर्षणमा रह्यो । यसपर्वमा लाज शरणम्, मायावी र रेशम फिलिली प्रदर्शनमा आए । यि कुनै पनि चलचित्रले अपेक्षाकृत व्यवसायिक सफलता पाउन सकेनन् ।
तिहारको अवसरमा चलचित्र पूर्ण बहादुरको सारङ्गी प्रदर्शन भयो । यो चलचित्रले पनि तिहारको विदाको सदुपयोग गर्न सकेन । प्रारम्भिक दिनमा चल्दै नचलेको चलचित्रले तिहारको छुट्टी सकिएपछि बक्स अफिसमा एकएक चमत्कार देखाउन थाल्यो । माउथ पब्लिसिटी जबरजस्त हुँदा चलचित्रले ब्यापारमा ऐतिहासिक रेकर्ड राख्यो । यो चलचित्रले घरेलु बक्स अफिसमा करिब ४७ करोडको ब्यापार गर्यो ।
यसवर्ष ठूला पर्वमा रिलिज भएका चलचित्रको व्यापारले क्यालेण्डरमा धेरै दिन विदा देख्दैमा रिलिज हुने सबै चलचित्रलाई व्यवसायिक सफलता मिल्दैन भन्ने कुराको ज्ञान चलचित्रकर्मीलाई दिएको हुनुपर्छ । उत्कृष्ट कथा र प्रस्तुति भएको चलचित्र जुनसुकै समयमा पनि सफल हुन सक्छ भन्ने चलचित्रकर्मीले बुझेको हुनु पर्छ ।
ब्यवसायमा ऐतिहासिक सफलता
अघिल्ला वर्षको तुलनामा यसवर्ष नेपाली चलचित्रको व्यापार उत्साहजनक छ । वर्ष २०८१ मा रिलिज भएका ५९ चलचित्रले घरेलु बक्स अफिसमा कूल १ अर्व ८० करोडको व्यापार गरेका छन् । यो तथ्याङ्क चलचित्र विकास बोर्ड अन्र्तगतको सेन्ट्रल म्यानेजमेण्ट टिकट सिस्टम (बक्स अफिस) रिपोर्टमा आधारित हो । अहिले सम्म देशभरका २५ चलचित्र हलहरु यो सिस्टममा नजोडिएका कारण चलचित्रको बक्स अफिस कलेक्सन यो भन्दा केही बढी छ । यसमा समावेश नहुने अन्तराष्ट्रिय बजारको रिपोर्ट र डिजिटल माध्यमबाट प्राप्त हुने आम्दानी जोड्दा नेपाली चलचित्रको ब्यापार दुई अर्व नाघ्ने पक्का छ । यस्तै यसवर्ष नेपाली चलचित्रको कुल ५७ लाख ३७ हजारवटा टिकट बिक्री भएको छ ।
यसवर्ष चलचित्र पूर्ण बहादुरको सारङ्गीले सर्वकालिन सफल चलचित्रको रुपमा आफ्नो नाम दर्ज गराएको छ । नेपाली चलचित्रको व्यापारमा यसवर्ष यो चलचित्रको ठूलो योगदान रह्यो । १७ लाख २ हजार ३० वटा टिकट बिक्री हुँदा यो चलचित्रले ४६ करोड ८० लाख २६ हजार ६ सय ७४ रुपैयाँ ९ पैसाको व्यापार गरेको छ । तर, दुःखको कुरा निर्माता बिनोद पौडेलले चलचित्रको व्यापार देखाउन सुरुका दिनमा १०–१२ लाख रुपैयाँको टिकट आफैले किनेको कुरा सार्वजनिक रुपमै स्वीकारेका छन् ।
यसबाहेक यसवर्ष व्यवसायिक सफलताका आधारमा १९ करोड ९२ लाखको व्यापार गर्दै चलचित्र १२ गाउँ दोस्रो भएको छ । टपटेन चलचित्रको सूचिमा १५ करोड २० लाखको व्यापार सहित छक्का पञ्जा ५ तेस्रो, १० करोड २ लाख ग्रस गर्दै बोक्स्ीको घर चौथो, ७ करोड ५० लाखको ब्यापार गर्दै अञ्जिला पाँचौ (यो चलचित्र अहिले पनि सफलता पूर्वक प्रदर्शन भइरहेका कारण व्यापार बढ्दो अवस्थामा छ ।), ७ करोड ३७ लाखको व्यापार गर्दै पूजार सार्की छैटौं, ५ करोड ९ लाखको व्यापार गर्दै घरज्वाई सातौं, ४ करोड ८४ लाखको ब्यार गर्दै फर्की फर्की आठौं, ४ करोड ७८ लाखको व्यापार गर्दै मनसरा नवौं र ४ करोड ३४ लाखको ब्यापार गर्दै लाज शरणम् दशौं स्थानमा छन् ।
यस्तै यसवर्ष सिरफूल नामको चलचित्रले जम्मा १ हजार ८ सय ५० रुपैयाँको ब्यापार गरेको छ । सबैभन्दा कम ब्यापार गरेको यो चलचित्रको ८९ वटा मात्र टिकट बिक्री भएको हो ।
पुराना मेकरको कमब्याक
पछिल्लो समय चलचित्रका दर्शकको स्वाद फेरियो भन्ने गरिन्थ्यो । चलचित्रमा भएका नयाँ नयाँ प्रयोग र दर्शकले त्यसलाई रुचाइदिदा परम्परागत रुपमा चलचित्र बनाउँदै आएका मेकरहरु निस्कृय जस्तै थिए । तर, दशैको अवसरमा रिलिज भएको चलचित्र १२ गाउँले उक्त मान्यतालाई तोडिदियो । चलनचल्तिको भाषमा भन्दा बम्बईया मसला युक्त यो चलचित्रले जबरजस्त ब्यापार गर्यो । कुनै समयका सुपरस्टार बिराज भट्टको निर्देशन रहेको चलचित्रले समिक्षकबाट सकारात्मक प्रतिक्रिया पाउन सकेन । यद्यपी डेब्यु नायक समिर भट्टको जवरजस्त क्रेजले चलचित्र सुपरहिट भयो । यसले स्टार पावरको महत्व फेरी एकपटक झल्काएको छ ।
यो चलचित्रको सफलता पछि निस्कृय जस्तै भएका पुराना मेकरहरु फेरी जुर्मुराउन थालेका छन् । छवी ओझा, शुशिल पोखरेल जस्ता चलचित्रका हस्ति मानिने केही निर्माताहरुले चलचित्र निर्माणको घोषणा गरिसकेका छन् ।
गीतसंगीतको भर
यो वर्ष केही चलचित्र गीतसंगीतकै कारण चर्चामा रहे । केही चलचित्रले गीतको सफलताको फाइदा व्यवसायमा उठाए पनि । तर, केही चलचित्रले चलेका भनिएका अझ भन्दा भाइरल गायक गायिका राखेर प्रमोशनल गीत बनाउँदा पनि दर्शकले पत्याएनन् ।
वर्षको सुरुमै रिलिज भएको चलचित्र बोक्सीको घर यसमा समावेश बुझिन मैले बोलको गीतको चर्चा र सफलताले चलेको धेरैको विश्लेषण छ । यो गीत रिलिज हुनु अघि धेरैलाई चलचित्रको नाम समेत थाहा थिएन । यस्तै चलचित्र खुस्माको गीत रुकुमैकोट पनि हिट भयो । यो गीतले पनि चलचित्रको व्यापारमा सकारात्मक प्रभाव पार्यो । यता चलचित्र पूर्ण बहादुरको सारङ्गीका दुई गीतहरु रैयाँ चादिको र काधेकुरीले व्यापारमा धेरथोर प्रभाव पारे ।
गीतसंगीतकै कारण चर्चामा रहने प्रकाश सपुतको चलचित्र वसन्तमा भने उनको जादु चलेन । यो चलचित्रका न त गीत चले न त चलचित्र नै चल्यो । यस्तै चलचित्र कर्माले त प्रमोशनल गीत नै बनाएको थियो । पछिल्लो समयका चर्चित गायक शुशान्त केसी र दुर्गेश थापाले अलग अलग गीत बनाए । गीत सामान्य चले पनि त्यसको प्रभाव ब्यापारमा खासै देखिएन । यही शुक्रबार रिलिज भएको चलचित्रको शुक्रबार, शनिबार र आइतबारको व्यापार उत्साहजनक छैन । यस्तै अर्को चलचित्र फेरी रेशम फिलिलीले रेशम फिलिलीको चर्चित गीत पारि त्यो डाँडामाको धुनमा गीत बनायो । तर, न त गीत चल्यो न त फिल्म नै चल्यो । बरु प्रदर्शनरत् समयमा रिलिज गरिएको चलचित्र अन्जिलाको रात किन हुन्छ हजुर बोलको गीतले दर्शकलाई हलसम्म तान्यो ।
फेष्टिवलमा सफल, बक्स अफिसमा असफल
यसवर्ष रिलिज भएका केही चलचित्रहरु बिभिन्न फेष्टिवलमा सफल भएपनि घरेलु बक्स अफिसमा भने असफल सावित भए । खासगरि मिन भाम निर्देशित शाम्वाला र दिपक रौनियार निर्देशित राजागंजले विभिन्न अन्तराष्ट्रिय फेष्टिवलमा सहभागीता जनाए । केही फेष्टिवलमा पुरस्कार समेत पाए । यद्यपी घरेलु बक्स अफिसमा दुबै चलचित्र असफल भए ।
सेन्सरको लफडा
अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि केही चलचित्रले सेन्सरको झमेला बेहोर्न पर्यो । आफ्नो चलचित्रमा सेन्सरले कैची लगाउँदा केन्द्रिय चलचित्र जाँच समिती (सेन्सर बोर्ड) बिरुद्ध आगो ओकल्ने चलचित्रकर्मीको पुरानै बानी हो । केही चलचित्रकर्मीले सामान्य रुपमा असन्तुष्टि व्यक्त गर्दै आएको भएपनि चलचित्र राजागंज निर्माण टिमले भने सेन्सर बिरुद्ध शशक्त अभियान थाल्ने बतायो । निर्देशक दिपक रौनियारको नेतृत्वमा प्रेम मिट पनि भयो । केही चलचित्रकर्मीले बोर्ड बिरुद्ध अभिव्यक्ति पनि दिए । तर, यो चलचित्र घरेलु बक्स अफिसमा सुपर फ्लप भएपछि यो मुद्धा पनि यसै हरायो ।
हेर्नुस् २०८१ सालमा रिलिज भएका चलचित्रहरुको सूचि:
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ सिक्वेल नभएको निर्देशक खनालको प्रष्टोक्ति
-
-
दोस्रो सातामा ‘पिताम्बर’लाई उत्साहजनक शो, ‘कर्मा’लाई जम्मा ११
-
-
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel