News
जे भने नी हुन्छ मलाई, पैसा लाग्दैन

केही दिन अघि एउटा खबर आएको थियो । मह जोडीले अमेरिकन एम्बेसीबाट ५ करोड रुपैयाँ लिए भनेर । केहीले त्यो खबरलाई विश्वास गरे भने केहीले विश्वास गर्न सकेनन् । खबर खबरमै सिमित रह्यो न त यसको पुष्टि नै भयो न त महले खण्डन नै गरे ।
यसैबिच बिहिबार दिउसो हरिवंश आचार्यको गीत सार्वजनिक भयो । हरिबंशकै शव्द, संगीत र स्वर रहेको गीतले व्यक्तिको पछाडी कुरा काट्ने प्रवृत्ति प्रति कटाक्ष गरेको छ । गीत सुनेपछि त्यही खबर याद आयो कतै हरिबंशले गीत मार्फत ५ करोड लिएको भन्ने खबरको त खण्डन गरेका हैनन् ? त्यसैले हामीले गीत रिलिजको समाचार लेख्न हतारो गरेनौं । बरु हरिबंशसँग गीतको कथा बुझ्न खोज्यौं ।
बिहिबार गीत रिलिज भएलगत्तै उनीलाई टेलिफोन गरियो तर उठेन । केही समयपछि उनको फोन लगातार व्यस्त भयो । लाग्यो उनका शुभचिन्तकहरुले गीत सुनेर/हेरेर प्रतिक्रिया दिइरहेका होलान ।
अन्नतः साँझ हरिबंशसँग कुरा भयो । उनी हस्पिटलमा रहेछन् । त्यसैले उनकै आग्रहमा हामीले निकै छोटो सम्बाद गर्यौ ।
कुराकानीको क्रममा हामीले ५ करोडको कुरा कोट्याउने मौका खोज्दै थियो तर उनैले त्यो प्रसंग निकाले ।
शुरुमा हामीले गीत कसरी जन्मियो भन्ने जान्न खोज्दै थियो । हामीले यही कुरा सोध्यौं, उनले भने – ‘कहिलेकाँही यसो कलम चलाउँदा खेरी के लेखौं के लेखौं हुन्छ, मान्छेहरुको विषयमा । जस्तो अब पैसा तिरेर यस्तो कुरा गर्न पर्ने भए कसैले गर्दैनथे । पछाडी कुरा गर्ने चलन हुन्छ नी मान्छेको । आफुले केही नगरेपनि पछाडी कुरा गरिरहेका हुने रहेछन् । अब त्यसलाई पैसा तिरेर गर्न पर्ने भए कसैले गर्दैनथे होला । त्यसैले यसो लेख्न थालेको लेख्दा लेख्दै गीत बन्यो ।’ तर गीतका शव्दहरु केलाउँदा कलम चलाउँदा चलाउँदै बनेको गीत जस्तो पक्कै लाग्दैन । आफ्ना प्रहशन र टेलिचलचित्रमा समाजका कुरा बोल्ने हरिबंशले त्यसै गीत जन्माए होलान र ? हाम्रो जिज्ञाशा मेटिएन त्यसैले थप कुरा जान्ने कोसिस गर्यौ, कतै आफ्नै पछाडी कसैले केही बोलेको सुनेर यो गीत लेखेका त होइनन् ? यस्तो जिज्ञाशामा उनले भने – ‘त्यस्तो हुन्छ । आफुले केही नगरेपनि पछाडी पछाडी कुरा गर्ने बानी हुन्छ मान्छेको । केही नगर्दा पनि पछाडी कसैले केही लेखिदिन्छ । फलानोले यसो गरे रे भनिरहेको हुन्छ । अनि कहिलेकाँही सानो सानो कुराले चित्त दुखिरहेको हुन्छ नी । अनि त्यही चित्त दुखिरहेको सुनेर यस्तो लेखेको ।’
त्यसो भए त्यस्तो प्रबृत्ति प्रति व्यङ्ग्य गर्दै यो गीत तयार गरेका हुन त ? उनी यो गीतलाई व्यङ्ग्य मान्न तयार छैनन् भन्छन् – ‘यो व्यङ्ग्य होइन । भाइले मलाई सबैले माया गर्छन कसैले कुरा गर्दैन भन्नु हुन्छ नी । तर, तपाईको पछाडी कुरा गर्ने थुप्रै हुन्छन् क्या । अब मान्छेले मेरो त कसैले रिस गर्दैन, सबैलाई राम्रो गरेको छु भन्ठान्छन् तर पछाडी रिस गर्ने मान्छे हुन्छन् । मैले शत्रुलाई व्यङ्ग्य गरेको होइन । शत्रु कोही छैनन्, सबै मित्रै मित्र छन् । तर मित्रले पनि पछाडी चित्त दुखाईदिदा कहिलेकाँही यसो लेख्न मन लाग्छ ।’ त्यसो भए के हो त ? उनी भन्छन् – ‘व्यङ्ग्य होइन । मन बोलेको । कहिले काँही एक्लै मन बोल्छ नी । त्यही मन बोलेको हो मेरो ।’
आफ्नो मनको कुरा गीतमा लेखेको बताएका हरिबंशलाई गीत लेख्न कुनै त्यस्तो विशेष समय वा अवस्थाको जरुरी हुँदैन रहेछ । त्यसैले यो गीत लेख्नलाई पनि विशेष समय कुर्नु परेन । मनमा यो विषय आएछ अनि लेख्न थालेछन् । कसरी यो विषयमा गीत लेख्ने सोच आयो त उनको – ‘जे भनेनी हुन्छ नी भने जस्तो कुरा हुन्छ नी । मान्छेले अरुको कुरा किन गर्छ पछाडी भन्दा यो त फ्रि होनी त, पैसा तिर्न पर्दैन । पैसा तिर्न पर्ने भए कसैले पछाडी कुरा गर्दैनथ्यो होला । नेपाली सँग फूर्सद पनि एकदम धेरै छ, अनि पैसा पनि तिर्न नपर्ने त्यसैले पछाडी पछाडी कुराहरु हुन्छ नी मान्छेको । यसलाई अब पछाडी पछाडी अरुको कुरा काट्दा पैसा लाग्ने सिस्टम बनायो भने, कुरा काट्ने ज्यादै कम हुन्थ्यो होला । अब यो फ्रि पाएको चिज मान्छेले यसलाई उपभोग धेरै गरे क्या ।’ उनले अगाडी थपे – ‘कहिलेकाँही यसो पत्रपत्रिका अनि अनलाईनहरु हेरिन्छ । कसैले ५ करोड अमेरिकन एम्बेसीसँग खाए रे भनेर लेख्छन्, कसैले के लेख्छन्, केही गरेको छैन । पछाडी किन मान्छे लागेको होला जस्तो लाग्छ । अनि यसो यही विषयमा लेखौन त एउटा गीत भनेर लेखेको हुँ ।’
त्यसो भए गीतको जग यही घट्ना हो त ? हरिबंश भन्छन् – ‘हैन हैन । त्यस्ता घट्नाहरु धेरै छन् । घटीरहेका हुन्छन् । पछाडी मान्छेहरुले कुरा काटीरहेका छन् । एउटै घट्नाबाट प्रेरित भएर गरेको हैन मैले ।’
हरिबंशले ५ करोड अमेरिकन एम्बेसी सँग खाएको भन्ने प्रसंग निकाले तर हामी अझै त्यो विषयमा प्रवेश गरेका छैनौं । बरु गीतकै बारेमा कुरा गरिरहेका छौं । गीतमा उनकै संगीत छ । हामीले संगीतको पाटोलाई कोट्याउने प्रयास गर्यौ । विचको समय चलचित्र छक्का पञ्जा र जात्राको गीतमा स्वर दिएका उनले आफ्नै संगीतमा भने ८ वर्ष पछि गीत सार्वजनिक गरेका हुन । यस अघि प्रेमराजा महत र हरिबंशको म त खोक्रो सांरगी रिलिज भएको थियो । यसअघि साझा बसमा, हाम्री आमा, सारङ्गी रेटौला जस्ता आफ्ना सफल गीतमा समेत संगीत दिएका हरिबंशले यो गीतमा पनि आफै संगीत दिए । तर उनी आफुले संगीत भरेको नभएर लय हालेको भन्छन् – ‘लय मैले आफैले हालेको हो । गीतसँगै कहिलेकाँही लय पनि आउँछ त्यही भएको हो । यसको ऐरेन्जर र पछाडी धेरैले बाजा बजाउनु भयो ।’
सुदन केसीले यो गीतको भिडियो बनाएका हुन । स्टुडियो भित्रै संगीतकर्मीहरुका साथ हरिबंशलाई फिचर्ड गर्दै भिडियो बनाइएको छ । हरिबंशका अनुसार पैसा धेरै खर्च नगर्ने नीति अनुसार यसरी भिडियो बनाइएको हो । उनी भन्छन् – ‘आजकल भिडियोमा धेरै पैसा खर्च गर्नपर्छ । डाडा काडा पुग्नु पर्यो, टिम लिएर लोकेशन लोकेशनमा पुग्न पर्यो, खर्च बढी हुने । अनि खर्च कम हुने गरि यसरी गर्दा राम्रो होला भनेर गरिएको हो ।’ त्यसो भए यो कन्सेप्ट चाँही कसरी तयार भयो त – ‘मैले सिम्पल गरौं भने । धेरै पैसा खर्च गर्न सक्दिन, सिम्पल कसरी गरौ भनेको थिए । अनि यसरी गरौं भन्ने सल्लाह भयो । कन्सेप्ट सुदन कै हो । उसैले तयार गरेको हो ।’
त्यसो त गीत सिम्पल शैलीको छ । धेरैले सजिलै यो गीत गाउन सक्छन् । हरिबंशकै भनाईलाई मान्ने हो भने पनि गायकीमा विशेष खुबी केही छैन । अनि गीत चल्नु नचल्नु फरक कुरा हो । तर, गीत हरेक व्यक्तिको जीवनसँग रिलेटेड छ – ‘बिष्णु भाईको पनि पछाडी कत्ति मान्छेले कुरा काट्छ होला । तपाईलाई पनि यो मेरो गीत जस्तो लाग्छ । सबैले रिलेट गर्छ जस्तो लाग्छ मलाई त ।’
कलाकारिताको माध्यमबाट समाज परिवर्तनका लागि मह जोडीले पुर्याएको योगदानको अवमुल्यन गर्न मिल्दैन । यद्यपी कहिलेकाँही काम गर्दै जादा केही गल्ति हुन सक्छन्, यस्ता गल्ति औल्याइदिदा त सुधारको मौका मल्छि तर खोटका लागि खोट देखाउने प्रवृत्ति पनि समाजमा हाबी नै छ । त्यसमाथी सामाजिक कार्यमा संलग्नहरुले पाइला पाइलामा ध्यान दिनु पर्ने । महजोडी यदि यस्तो कुरामा सचेत नभएको भए आज सर्वप्रिय कलाकार अनि समाजसेवामा अग्रणी व्यक्ति पक्कै बन्ने थिएनन् । कलाकारिताको दौरान उनीहरुले सामाजिक विषयवस्तु माथी थुपै टेलिफिल्म बनाएका छन्, प्रहशन देखाएका छन् । जसका लागि उनीहरुलाई सहयोग गर्ने सहयोगी हातहरुको पनि कमी छदै छैन । यद्यपी कुराकानीको क्रममा हरिबंशले ५ करोड अमेरिकन एम्बेसी सँग खाएको हल्ला बारे प्रसंग निकालेका थिए । त्यसैले हामीलाई यो विषयमा बुझ्न अझ सहज भएको छ । खासमा त्यो विषय किन आयो र कसरी आयो ? हरिबंशले आफुहरु ब्राण्ड एम्बेस्डर रहेको बैंकसँग सम्वन्धित व्यक्तिहरुको केही कुरा नमिलेका कारण आफुहरुमाथी पनि प्रहार भएको जिकिर गरे । हामीले अन्य मिडियामा आएको खबरको खण्डन गर्नु थिएन, न त यो पुष्टि भएको विषयनै थियो, त्यसैले यसमा केन्द्रित भएनौं बरु जनचासोको विषय यस्ता खबरहरु फैलिदा एउटा व्यक्तिलाई अझ सामाजिक रुपमा उच्च व्यक्तित्व स्थापित भइसकेको व्यक्तिलाई कस्तो महशुस हुँदो रहेछ त्यो जान्ने प्रयास गर्यौ । भन्छन् नी ठुला मान्छेको इज्जत पनि ठुलै हुन्छ अनि सानो कुरामै बेइजत पनि ठुलै । त्यसैले हरिबंशलाई यस्ता कुराह सेन्सेटिभ लाग्छ तर आक्रोसित हुन सक्दैनन् – ‘मनमा एकदम नरमाइलो हुन्छ के । गर्दै नगरेको दोष लाग्नु भनेको त मान्छेको जीन्दगीमा एकदमै नराम्रो कुरा होनी । अहिले त एकदम सेन्सेटिभ युग छ । अहिले मैले यहाँ गीत रिलिज गरे विश्वभरबाट मान्छेले हेर्छ नी । एउटा सानो न्यूज लेख्दा पनि मान्छेले हो भन्छ के । गर्दै नगरेको कुरालाई यसरी गर्दिदा खेरी मन दुख्छ नी, मन रुन्छ, आत्मा रुन्छ, चित्त दुख्छ । तर, म आक्रोस व्यक्त गर्दिन, कराएर खण्डन गर्ने यस्तो उस्तो गर्नु भन्दा पनि सह्यो अनि समयले जवाफ दिन्छ त्यसलाई । सुरु सुरुमा मान्छेले हो कि भन्ठान्छन् तर समयसँगै वास्तविकता बाहिर आउँछ अनि त्यस्ता कुराहरु मेटिदै जान्छ ।’
महजोडीले संयम अपनाएकै हुन । कतै पनि यो विषयमा बोलेनन् । उनीहरु माथीको आरोप आरोपमै सिमित भयो । हरिबंशकै गीतमा भनेझै :
‘जे भने नी हुन्छ मलाई, पैसा लाग्दैन
म दुखीलाई जे गरे नि, दुख लाग्दैन
सत्तो सराप गरे हुन्छ, धन जाँदैन
सरापेरै केही भो भने दोष लाग्दैन’
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri