News
तीज गीतहरु रत्यौली र यौन व्यापारका लागि निस्के – सुवास रेग्मी | खुट्टा लर्खराएकै हुन – पशुपति शर्मा
कलाकारमा मानसिक विचलन – रेग्मी | मेरा गीतहरु मौलिक छन् – शर्मा

नेपाली बृहत शव्दकोषका अनुसार नारीहरुको सौभाग्य र समृद्धिका निमित्त धार्मिक परम्परा अनुसार शिव–पार्वतीको उपासना र पूर्जा गर्ने भाद्र शुक्ल तृतियाको दिनलाई हरितालिका तीज भन्ने गरिन्छ ।
तीजको अवसरमा गाइने गीतलाई तीज गीत भनिन्छ । विवाह गरेर विभिन्न ठाँउमा पुगेका चेलीहरु तीजको अवसरमा माइतिको आगनमा जम्मा हुने र वर्ष भरीका मनका बहहरु गीत मार्फत पोख्ने गर्थे । यसैले तीज गीतको आफ्नै महत्व र विशेषता रहेको छ । तर अचेल तीजका गीतमा निकै भिन्नता पाइन्छ । हुन त समय सँगै समाज अनि मानविय चेतनामा आएको परिवर्तनका कारण अब तीजका गीतमा पहिले जस्तो बेदनै बेदना त नहोला तर के अहिले बजारमा आइरहेका तीज गीत तीज गीत भन्न लायक छन् त ? केहीले तीजका गीतमा विकृती भित्रिएको भनेर विश्लेषण समेत गरिरहेका छन् । तीजको मौलिकता माथी प्रश्न उठिरहेका बेला केहीले तीजको नाममा दोहोरी, माया प्रेमका गीत र रत्यौली भाका समेत बजारमा आएको भन्दै चर्को आलोचना गरिरहेका छन् ।
गीतकार राजेन्द्र थापा भने गीतमा श्रृगारिक भाव समावेश हुने हुँदा त्यसलाई हेर्ने र बुझ्ने मान्छेको सोचमा नै भर पर्ने बताउँछन् । समयको परिवर्तन सँगै कतिपय कुराहरु सामान्यिकरण हुँदै जान्छन् । थापा भन्छन् पहिले त अश्लिलता केलाई भन्ने हो त्यसमा स्पष्ट हुन जरुरी छ । कसैको नजरमा अश्लिल लागेको कुरा कसैलाई श्रृगारिक लागेको हुन सक्छ । त्यसैले व्यक्तिले विम्वलाई जस्तो सोचले हेर्छ प्रतिविम्ब पनि त्यस्तै देख्छ ।
तीजलाई नेपाली नारीहरुको महान पर्व भन्ने गरिन्छ । यसैले तीज गीतलाई पर्व गीतको श्रेणीमा राख्ने गरिन्छ । यो साँस्कृतिक चाड भएकोले साँस्कृतिक गीतका रुपमा पनि तीज गीतलाई हेर्ने गरिन्छ । सांस्कृतिक अनि पर्व गीतको उपमा पाएको तीज गीतमा अचेल त्यसको मर्म र भावनालाई आत्मसाथ गर्नै नसकिएको संगीत व्यवसायि तथा म्युजिक भिडियो निर्देशक सुवास रेग्मीको भनाई छ । रेग्मीका अनुसार – ‘नेपाली संगीत बजारमा पछिल्लो १० वर्षमा प्रकाशित भएका तीज गीत मध्ये ९५ प्रतिशत भन्दा बढी तीज गीतहरु रत्यौली र यौन व्यापारका लागि निस्केका हुन ।’ उनले अगाडी थप्दै भने – ‘द्विअर्थी लाग्ने शब्द र यौन आग्रहलाई शाब्दिक अर्थमा परिभाषित गर्ने अनि म्युजिक भिडियो र त्यसमा अभिनय गर्नेहरुले पनि यौन भावना र चाहनालाई नै देखाउने गरेको पाइन्छ, पछिल्लो १० वर्षका ९५ प्रतिशत भन्दा बढी गीतहरुमा । अब फाट्ट फुट्ट निस्केका पुराना गायक गायिकाका गीतहरुमा दिदीभाईका गन्थनहरु, पिडा बेदनाका कुराहरु, समानताका कुराहरु, नारीका अधिकारका कुराहरु ५ प्रतिशत छन् ।’
हुन पनि हो बजारमा आएका तीजका धेरै गीतहरु कि त रत्यौलीको भाकामा छन् कि त सुन्न र हेर्न पनि लाज लाग्ने खालका छन् । तीजका गीतमा रत्यौलीको कुरा भन्दा अघि अश्लिलताको कुरा गरौं । रेग्मीले अहिलेका तीज गीतमा द्विअर्थी लाग्ने शब्द र यौन आग्रह अनि भिडियोमा पनि कलाकारको हाउभाउमार्फत यौन भावना र चाहना नै देखाइने बताउनुले पनि कति सम्म अश्लिलता भित्रियो भन्ने अनुमान सहजै लगाउन सकिन्छ । सर्जकमाथी अश्लिलताको आरोप लागिरहेका बेला धेरै तीज गीतका रचनाकार तथा गायक पशुपति शर्मा सबैभन्दा पहिला कलाकार नै अनुशासित र मर्यादित भएमा मात्र यस्तो समस्या निवारण हुने बताउँछन् – ‘अनुशासित र मर्यादित त आफै हुने हो । आफुले आफ्नो परिवार आफन्तसँग बसेर आफ्ना गीत हेर्न सकिन्छकी सकिदैन, लाज लाग्छकि लाग्दैन त्यो त आफैले आफ्नो आत्मसमिक्षा गर्ने हो । आफु मर्यादित हुने हो । रत्यौली मेरा दुईवटा आएका हुन । नत्र मैले त्यस्ता अश्लिल गीत, द्विअर्थी शव्दका गीत गाएको छैन । तर कहिलेकाँही केही भिडियो देख्दा यति भाति नगरेको भएपनि हुन्थ्यो, मर्यादित बनाउन सकिन्थ्यो जस्तो लाग्थ्यो । मलाई नगर भन्ने अधिकार त छैन आफुलाई त्यसो नगर्दिए हुन्थ्यो भन्ने चाँही लाग्छ । अरुले कसरी गर्नुभएको छ त्यसमा त मैले के भन्नु र ।’
शर्माले भने जस्तै पछिल्लो समय कलाकारहरु स्वयम् अनुशासित हुन नसकेकै हुन । उसले यस्तो गर्दा चल्यो म पनि त्यस्तै गर्छु भन्ने खालको अस्वस्थ्य प्रतिपर्धा पनि तीजगीतमा अश्लिलता र रत्यौली भित्रनुको प्रमुख कारण हो । रेग्मी त यसलाई कलाकारहरुको बिकृत मनोभावनाको उपज ठान्छन् – ‘पछिल्लो वर्षहरुमा कलाकारको सोचमा बिकृत मनस्थितिले डेरा जमायो । त्यो डेरा किन जमायो कलाकारमा भने तीजको विषयलाई लिएर स्कुलमा, वडामा, चोकमा, गल्लिमा, जिल्लामा, अञ्चलमा, देशमा, विदेशमा कार्यक्रमहरु हुन थाले । ति कार्यक्रममा उपस्थित भएर अश्लिल प्रस्तुती देखाइ सकेपछि आयोजकबाट मनग्य धन कमाउन पाइने । अनि पछिल्लो समय तीजको विषयमा दिइएको दर पार्टी पनि रक्सि पार्टीमा परिणत भइरहेको हुनाले, ती उच्श्रृंखल गीतहरु र उच्श्रृंखल प्रस्तुतिहरुले पनि ठाँउ पाइराख्ने भएका हुनाले, सामाजिक विचलनको अवस्था आउको हुनाले कलाकारहरुको मनस्थतिमा पनि बिचलन आएकोले यस्तो भएको हो । पछिल्लो १० वर्षमा प्रकाशित भएका तीज गीत मध्ये ९५ प्रतिशत भन्दा बढी गीतले यौन मनोभावनालाई जागृत गर्ने र द्धिअर्थी शब्द राखेर अश्लिलता फैलाउने काम गरेका छन् ।’
रेग्मीले कलाकारहरुको मनस्थतिमा बिचलन आएकोले अश्लिलता भित्रिएको बताए पनि कलाकारहरु भने संगीत व्यवसायिले आफ्ना गीतको भिडियोमा ग्ल्मरको नाममा अश्लिलतालाई प्राथमिकता दिदै गएको बताउँछन् । तर रेग्मी अहिले संगीत व्यवसायि कोही पनि नभएको जिकिर गर्छन – ‘अहिले को व्यवसायि छ र ? अहिले कोही संगीत व्यवसायि छ भने नाम भन्नसु त । अहिले नेपालमा कोही पनि संगीत व्यवसायि नै छैनन् । छन् भने २–३ जना छन् । त्यो व्यवसायिलाई कसैले गीत दिन्न् श्रष्टाहरु आफ्ना गीत आफै निकाल्छन् । सबैका युट्युव च्यानल छन् । श्रष्टाको नजरमा त संगीत व्यवसायि भनेका चोर हुन । श्रष्टा मारा हुन । त्यसैले अहिले चोर र श्रष्टा मारा कम छन् । देखाएर चलिन्छ भन्ने भ्रममा छन् कलाकारहरु । त्यसैले यस्तो भएको हो ।’
अश्लिलता पछि अब कुरा गरौं तीज गीतका नाममा भित्रिएको रत्यौलीको । खासगरि तीजका गीतमा रत्यौली गाउने गरेको आरोप चाँही चल्तिका कलाकार पशुपति शर्मा माथी जान्छ । उनले गण्डक क्षेत्रमा प्रचलित रत्यौली गीतहरु जाँउ भने जान्छेर माया... अनि बत्ति बाल्न पर्दैन...लाई तीजको गीत भनेर गाए । गीतपनि हिट भए । त्यसपछि धेरैले उनकै सिको गरे । तर पशुपति शर्मा आफुले रत्यौली गीतलाई तीज गीत भनेर गाएको कुरा स्वीकार्न तयार देखिएनन् । रत्यौली गीत केलाई भन्ने भन्नेकुरामा कोही पनि प्रष्ट नभएको दाबी गर्दै उनले भने – ‘मुख्य कुरा मैले रत्यौली गीत गाए भन्ने मान्दिन, स्वीकारर्दिन, मैले रत्यौली गाएकै छैन । मैले रत्यौलीमा गाइरहने दुइटा गीत गाएको हो, बत्ति बाल्न पर्दैन... र जाँउ भने जान्छौं र माया... यि गीतहरु माया प्रेमका गीत होलान् तर रत्यौली हो भनेर म मान्दिन ।’
शर्माले रत्यौली गीत नै तीज गीतका रुपमा गाएको कुरा स्वीकार नगरेपनि उनले सानै देखि बत्ति बाल्न पर्दैन... र जाँउ भने जान्छौं र माया... जस्ता गीतहरु रत्यौली गीतको रुपमा सुन्दै आएको भने स्वीकारे । बरु गाँउमा आफुले सुनेको र गाँउमै मात्र सिमित भएको यो गीतलाई देश विदेशमा पु¥याएको जीकिर गरे । यति मात्र कहाँ हो र उनले त आफु भन्दा पनि अरु धेरैले रत्यौलीलाई तीज गीत भनेर गाउने गरेको तर आरोप चाँही आफुले मात्र भोग्नु परेको दुःखेसो समेत पोखे – ‘मैले भन्दा अझ वास्तविक रत्यौलीलाई तीज गीत भनेर बजारमा ल्याउनेहरु धेरै छन् । त्यस्ता थुप्रै गीत छन्, तर मेरा गीत चर्चामा आएकोले मलाई यस्तो आरोप लागेको हो । तिनलाई खोजिएकै छैन ।’
यता रेग्मी भने मुग्लिनबाट दाहिने लागेपछि बुटबल सम्मका कलाकारले तीजको गीतमा रत्यौली भित्राएको बताउँछन् । स्याङ्जा स्थायी घर भएका उनी भन्छन् – ‘हाम्रो स्याङ्जा जिल्ला रत्यौली भाकाको धनी जिल्ला हो । त्यो जिल्ला बाट धेरै कलाकारहरु नेपाली संगीत जगतमा प्रतिनिधित्व गर्छन । मुग्लिनबाट दाहिने लागेपछि बटौली नपुग्ने बेलासम्मको पुरै भेगका लुठाहरु नेपाली संगीत क्षेत्रमा एकदम सक्रिय रुपमा लागेका छन् । हो तिनीहरुले ल्याएको रत्यौलीको भाका हुनाले तीजका गीतमा रत्यौलीको भाव आउने, रत्यौलीको उच्छृखलता आउने, रत्यौलीकै स्टाइलको सारीचोली उचाल्ने कुरा आउने, रत्यौलीकै स्टाइलकै यौन सम्बादहरु आउने कारण त्यो हो । मौलिकता र तिजको भाव हराएको कुरा त्यो हो ।’
गण्डक क्षेत्रका धेरैले सानैदेखि रत्यौलीमा त्यस्ता गीत सुन्दै हुर्केका छन् । उनीहरुले कसरी शर्माको विश्वास गर्ने ? हाम्रो यस्तो प्रश्न पछि भने शुरुमा आफूले रत्यौली गीतलाई तीजगीत बनाएको स्वीकार नगरेका शर्माको भनाईमा केही परिवर्तन भेटियो । अश्लिलताको कुरा गर्दा नैतिक जिम्मेबारीको कुरा उठाएका उनले रत्यौलीको सन्दर्भमा भने आफुबाट गल्ति भएको स्वीकार गरे । उनले कतिपय अवस्थामा जानी जानी गल्ति गर्नुपर्ने भन्दै खुट्टा पनि लर्काएको बताए – ‘मैले गरेका गीत शत प्रतिशत ठिक छन् भनेको छैन । मेरा पनि गल्ति कमजोरी छन् । तर मैले निकालेका १०० मध्ये २–३ वटा मात्र रत्यौलीका हुन । त्यो बाट प्रभावित हुन । बाँकी ९७ गीत नारी बेदनाका छन् । ती गीतहरु सुनिएका छैनन् हेरिएका छन् । आदर्शबादी भएर पनि नचलिदो रहेछ त्यसैले जानी जानी पनि खुट्टा लर्काएको हुँ ।’ उनले अगाडी थपे – ‘आर्दशले खान नदिनो रहेछ । त्यसैले देश अनुसारको भेष पनि गरेको हुँ । म आदर्शबादी भइरहे भने पछाडी पर्ने अवस्था देखियो के । मैले नगाए अर्कोले गाउँछ । कि त एउटा सिमा रेखा बन्यो भने सबैले त्यही भित्र बसेर गाउँछन् । मैले अनुशासित भएर राम्रा गीत मात्र गाएर के गर्नु अर्कोले अझ बद्मास गीत गाउछ, उही हिट हुने भयो के । राम्रो गाउने मान्छे पनि पछि पर्ने भयो के हेर्नुस् ।’
तीजका गीतमा अश्लिलता र रत्यौली भित्रिदै जाँदा मौलिकता हराउँदै गइरहेको छ । रेग्मी अहिले तीजका गीतबाट मौलिकता सक्किइसकेको जिकिर गर्छन । उनी भन्छन् – ‘मौलिकता त सरकारको दस्ताबेजमा मात्र बाँकी छ । मौलिकता त सरकारले गीतसंगीतको संरक्षण र प्रवर्दनका लागि दिने पैसामा मात्र बाँकी छ । अन्त त सक्किइसक्यो नी ।’
यता शर्मा पनि पछिल्लो समय जुन रुपमा वास्तविक तीजका गीत बजारमा आउनु पर्थ्यो त्यो नभइरहेको बताउँछन् । देखासिकी गर्नेहरुको संख्या बढी भएकोले पनि मौलिकता कम हुँदै गउको उनको भनाई छ । यद्यपी आफुले भने मौलिकता नछोडेको दाबी गर्छन् – ‘सबैले आफ्ना आफ्ना गीतको मुल्याङ्कन गर्ने हो केरे । अरुका गीत त्यति धेरै सुन्दिन । मैले हामीले कसरी मौलिकता दिन सकिन्छ भनेर सोच्ने हो । मैले राजनीतिक विषयसँग सम्वन्धित भष्ट्राचार विरोधी गीत पनि बनाएको छु । कोमल वली दिदीले गाएको गीत अनि लौरी हरायो भन्ने माइति जाने विषयको गीत पनि गाउको छसु । मामा आउछन् भनेर भन्ने गीतपनि मौलिक गीत नै बनाएको छु । वास्तविक कुरा के भने जे आउनु पर्थ्यो त्यो आएका छैनन् । वास्तविक गीतहरु बजारमा आएका छैनन् । हल्लै हल्लामा गीतहरु निकाल्नेको संख्या बढी छ । यसैले पनि वास्तविक गीत आउन नसकेका हुन ।’
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri