RemembringChetan Karki   
Movie's Credit : Director / Story / Screenplay / Dialogue / Lyricist

Biography

बि.सं. १९९५ कार्तिक २२ गते सोमबार पूर्णिमा तिथि (सन् १९३८ नोभेम्बर ७ तारिख) का दिन स्याङ्जा जिल्लाको आरुखर्क – ९ बहाँटारीमा पिता क्याप्टेन जुद्धवीर कार्की र माता चन्द्रमाया कार्कीको कोखबाट चेतन कार्कीको जन्म भएको हो । कार्कीले जीव विज्ञान विषयमा स्नातक पुरा गरेपछि देहरादून विश्वविद्यालयबाट हिन्दी साहित्यमा एम. ए उत्तीर्ण गरेका थिए । चलचित्र क्षेत्रमा आउनु अघि उनी मत्स्य पालन केन्द्र पोखरामा निर्देशकका रुपमा जागिरे थिए । सोही क्रममा उनले कलकत्ता गई मत्स्य विकास सम्बन्धी तालीम समेत लिएका थिए ।

बि.सं. २०२८ सालमा शाही नेपाल चलचित्र संस्थान स्थापना भएपछि कार्कीले निर्माण अधिकृतका रुपमा काम शुरु गरेका थिए । पछि उनी त्यहाँका मुख्य निर्माण अधिकृत पनि भए । क्रेडिट टाइटलमा नाम नआए पनि संस्थानमा रहदा उनले धेरैवटा नेपाली चलचित्रमा निर्माण नियन्त्रक भई काम गरेको जानाकारहरु बताउँछन् ।

चलचित्र संस्थानमा प्रवेश गर्नु अघि कार्कीले चलचित्र ‘परिवर्तन’का लागि पटकथा, संवाद र गीत लेखेका थिए । उनले सो चलचित्रमा निर्देशक हीरा सिंह खत्रीको सहायक निर्देशकका रुपमा पनि काम गरेका थिए । त्यसैले उनी स्व. हीरा सिंह खत्रीलाई चलचित्रको आफ्नो गुरु मान्नेगर्थे ।

चेतन कार्कीले चलचित्र संस्थानमा रहदा समाचारचित्रका निम्ति उद्घोषणाहरू, वृत्तचित्रका निम्ति पटकथाहरू पनि लेखेका थिए । उनले संस्थानमा वि.सं. २०२८ देखि २०३८ सम्म काम गरेका थिए । यो बिचमा संस्थानले निर्माण गरेका चलचित्र ‘सिंदूर’, र ‘जीवनरेखा’को सम्बाद लेखेका थिए । संस्थानबाट नै कार्की नेपाली चलचित्र प्रतिनिधी मण्डलको सदस्यका रुपमा सन् १९७६ र प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सन १९८० मा सोभियत रुसको तास्केन्टमा आयोजना गरिएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भएका थिए ।

सन् १९८६ को चलचित्र ‘विश्वास’बाट चलचित्र निर्देशनमा हात हालेका कार्कीले ३ वटा चलचित्रको निर्देशन गरेका छन् । ‘विश्वास’ पछि उनले सन् १९८९ मा ‘भुमरी’ र सन् १९९६ मा ‘पहिलो प्रेम’को निर्देशन गरेका थिए । कथा, पटकथा र सम्बाद लेखनमा अब्बल कार्कीले लेखेका थुप्रै गीतहरु चर्चित समेत छन् । खासगरि कार्कीले लेखेका चलचित्र ‘कान्छी’को कान्छी हे कान्छी, ‘कान्छि’कै यि ओठ तिम्रै, चलचित्र ‘कन्यादान’को न जाउन मलाई छोडी, ‘कन्यादन’कै तीजको लहर आयो बरिलै, ‘माया प्रितिको’ शिर्ष गीत माया प्रितिको चोखो कथालगायतका गीतहरु चर्चित गीत हुन् ।

२०१८ सालमा नातिकाजिको संगीतमा कार्कीको पहिलो गीत ‘जुन निदाउन थाल्यो’ रेडियो नेपालमा रेकर्ड भएको थियो । कार्कीले ‘माया प्रितिको चोखो कथा’ गीति संग्रह समेत प्रकाशन गरेका थिए । यस्तै उनले बि.सं. २०२१ मा हिन्दि गीतको संग्रह ‘कल्पना टूट चुकि है’ समेत प्रकाशन गरेका थिए ।
साहित्य क्षेत्रमा समेत अब्बल रहेका कार्कीले ‘आत्मा बेचेको छैन’, ‘हनीमून’ र ‘ढलेको गिलास’ नामक तीनवटा उपन्यास र ‘बसिबियाँलो’ कथा संग्रह समेत प्रकाशन गरेका छन् । उनको उपन्यास ‘आत्मा बेचेको छैन’लाई पछि नाटकका रुपमा समेत तयार गरिएको थियो ।

पछिल्लो समय साहित्यीक क्षेत्रमै व्यस्त कार्कीले चलचित्र, गीतसंगीत, सहित्य लगायतका बिषयमा थुप्रै लेख रचनाहरु बिभिन्न पत्रपत्रिकामा समेत प्रकाशन गरेका छन् ।

Summary of this Profile

Name Chetan Karki
Birth Date November 7 1938
Expired Date May 16, 2021