Subash Bhusal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
निर्देशकका कारण संगीतकारले झण्डै छोडेका थिए, प्रसाद ! तर, हिट भयो लै... लै...
यस्तो छ लै... लै... को भित्री कथा
गीतले कथा बोकेको हुन्छ । अझ चलचित्रको गीतले त कथा बोकेकै हुनुपर्छ । कयौं दृष्यहरुबाट भन्न पर्ने वा भनौं लामो समय खर्चिएर बुझाउन पर्ने कुराहरु एउटै गीतको माध्यमबाट पनि सहजै बुझाउन सकिन्छ ।
हुन त धेरै चलचिमा गीत राख्नै पर्छ भन्ने स्वमान्यताका आधारमा गीतहरु राख्ने गरिन्छ । कथाले मागोस् नमागोस्, सिच्यिुयसनले स्वीकार गरोस् नगरोस्, गीत त चाहियो, चाहियो । त्यो पनि एउटा हो र ३–४ वटै । सायद यसैले होला संगीतका जानकारहरु चलचित्रले गीतलाई बोक्न नसकेको बरु गीतले चलचित्र बोकेको दाबी गर्छन । उनीहरुको दाबी वास्तविक जस्तो पनि किन लाग्छ भने गीतलाई चलचित्र चलाउने हतियारका रुपमा मात्र प्रयोग गरियो, धेरै चलचित्रमा । गीत राख्नै पर्छ भनेर मात्र राखियो । गीतले कथा बोक्नु पथ्र्यो तर, त्यस्तो भएन् ।
तर, केही गीतहरु यस्ता पनि छन् जसले सिङ्गो चलचित्रको कथा बोक्छन् । झण्डै ४ मिनेटको गीतले विषयको गहिराईमा सहजै पुर्याइदिन्छन् । दर्शकको ध्यान मात्र तान्दैनन् मन छोइदिन्छन् । अनि चलचित्रको कथा भनिदिन्छन् । यस्तै एउटा गीत हो चलचित्र प्रसादको लै... लै...
गणेश शाहीको शव्द रहेको गीतले चलचित्रको कथा भनेको छ । गीतकै आधारमा भन्ने हो भने चलचित्रले अन्र्तजातिय विवाह गर्ने जोडीको कथा भन्छ । जहाँ माया भन्दा ठुलो अरु केही नभएको अथ्र्याउन खोजिएको छ । हुन त चलचित्रको निर्माण युनिटले यसलाई निःसन्तान दम्पतिको कथा पनि भनेको छ ।
प्रसादको यो गीत अहिले चर्चामा छ । गीतमा शव्द, संगीत र स्वरको संगम मिलेको छ । गीतमा गणेश शाहीको शव्द, सुवास भुषालको संगीत र केतन क्षेत्रीको स्वर छ । धेरैले यसलाई रुचाएका छन् । खासगरि शव्द ज्यादा रुचाइए ।
लै... लै... लै... लै...
कठै बरी लै
भन्ने को नै छ र तिमी र मलाई
लै...
नी लै... लै...
जाँउ डाडा काटि नौं डाडा पारी
तिमीलाई म छु, म तिम्रो साथी
लै...
नी लै... लै...
सारङ्गी रोयो कहाँ रोयो
जहाँ रोयो मेरै मन छोयो
जाँउ मायाँ सरर, पिर मान्ने को छ र
मायाँ भन्दा ठुलो नै के छ र
नी लै... लै...
किन हुन्छ यो भेद र भाव
एउटै होइन र मानिस सब
मदनलाई सोध माया के हो
मुनालाई सोध त्याग के हो
मानिस ठुलो दिलले हुन्छ
पीडामा मन सबको रुन्छ
फेरी किन यो दोष नी लै... लै...
जति नै आउला आँधि र बेरी
छेकौला त्यसलाई हामी दुई मिलि
मनमा छ माया पिरको छ भारी
दुःख बिसाउने तिमी चौतारी
आकाशै मुनि ओत लगाउँला
एकै गाँसले भोक टारौला
आफ्नै संसार बेस नी लै... लै...
गीतकार गणेश नामि गीतकार होइनन् । केही चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरेका गणेश म्युजिक भिडियोका निर्देशक हुन । उनले अहिले सम्म झण्डै आधा दर्जनमात्र गीत लेलेका छन् । सफलताको हिसावले हेर्ने हो भने उनको सबैभन्दा धेरै रुचाइएको गीत यही हो । जसले गीतकारका रुपमा पनि गणेशको उपस्थिति बलियो बनाउन सक्छ संगीत क्षेत्रमा ।
तर, गणेशले सहजै यो गीत लेखेका भने होइनन् । न त एकै बसाईमा यो गीत लेखियो । सुवासले पनि एकै बसाई तयार गरेका होइनन् । पटक पटकको प्रयास पछि गीतको धुन तयार भयो ।
प्रसादका लेखक हुन शुशिल पौडेल । उनले लेखेको स्कृप्टमाथी निर्देशक दिनेश राउतले काम गर्दै थिए । स्कृप्टमा काम गर्दै जाँदा एउटा यस्तो गीतको आवश्यकता महशुस भयो, जसले कथा बोक्न सकोस् । गणेश प्रसादका सहायक निर्देशक हुन । त्यसैले एक बसाईमा निर्देशक दिनेशले गणेशलाई आफ्नो दिमाखमा आइरेको कन्सेप्ट सुनाए, अनि गीत लेख्न भने ।
दिनेशसँगको त्यो बसाईपछि गणेशले गीत लेखे । तर, दिनेशले चित्त बुझाएनन् । पहिलो पटक गणेशले लेखेका शव्दबाट फाइनल भयो त केबल लै.. लै.. भन्ने शव्द मात्र ।
तर, गणेशले हार खाएनन् । फेरी गीत लेखे । त्यो पनि फाइनल भएन् बरु पहिले जस्तै अर्को एक लाइन मात्र मन पाराए निर्देशकले । यो क्रम केही समय चलिरह्यो । झण्डै १० वटा ड्राफ्ट तयार गरे गणेशले । अनि बल्ल दिनेशको मन छोयो । शव्द फाइन भयो । हामीलाई कुरा सुनाईरहँदा दिनेश र गणेशसँगै थिए । दुवैको मुहारमा आत्मसन्तुष्टिको भाव झल्किन्थ्यो । सायद आफ्नो गीतलाई सुन्नेहरु धेरैले रुचाएकोले होला ।
गीतकारको मात्र होइन संगीतकारको कुरा पनि यस्तै छ । गणेशका शव्दमा धुन भर्ने जिम्मा पाए सुवासले । उनी संगीत सृजनाको क्रममा निर्माण कम्पनी सुभाष थापा प्रोडक्सनको अफिसमै पुग्थे । त्यही निर्देशक दिनेशका साथ गीतार बजाएर धुन निकाल्थे । तर, जति कम्पोज तयार गरेपनि निर्देशकको चित्त बुझेन । सुवासले झण्डै १० पटकसम्म यसको कम्पोज तयार गरे । तर, निर्देशकको चित्त बुझ्दै बुझेन । एकदिन सुवासले भनेछन्, सायद हजुरले भनेजस्तो संगीत मैले गर्न सक्दिन होला । सुवासले पनि हामीलाई यो कुरा दिनेशकै अघि सुनाइरहेका थिए । भन्दै थिए मैले त हात उठाइसकेको थिए तर, उहाँले (निर्देशक दिनेश) मलाई सम्झाएरै काम गराउनु भयो । मैले फेरी मेहनत गरे । १३–१४ पटकको कोशिस पछि मात्र कम्पोज फाइनल भयो ।
केही उत्साहित देखिएका सुवासले विगत सम्झे । दिनेशले १० पटक सम्म आफ्नो कम्पोज रिजेक्ट गर्दा उनलाई लागेछ – ‘म पनि त एकदशक संगीतमै विताएको मान्छे हुँ । सोलो एल्बम बजारमा आइसकेको अनि केही चलचित्रमा संगीत दिएकै संगीतकार हुँ । कतै मलाई तैले केही जान्दैनस् भन्दै मेरो डिमोसन गर्नका लागि त दिनेशले कम्पोज रिजेक्ट गरिरहेका छैनन् ।’ यही सोचेर रहेछ उनले मैले काम गर्न सक्दिन भनेर हात उठाएको । उनले यो रहस्य खोल्दै गर्दा दिनेशको अनुहारमा अचम्मको भाव देखियो । सायद संगीतकारले गलत बुझेछन् भनेर होला । उनलाई त सुवास माथी विश्वास थियो, तै पनि सोचे जस्तो कम्पोज अझै पाइरहेका थिएनन् । त्यसैले सुवासलाई थप मेहनत गर्न लगाएका रहेछन् । हामीलाई गीतको कथा सुनाउँदै गर्दा सुवासको मनमा रहेको कुरा पनि क्लियर हुने मौका मिल्यो ।
त्यसो त जब गीत रिलिज भयो तब सुवासले सोचेछन् मलाई पटक पटक कम्पोज गर्न लगाएको त राम्रो कामका लागि नै रहेछ । अहिले उनलाई लाग्छ सायद पहिलो, दोस्रो कम्पोज नै ओके भएको भए यतिको सफलता मिल्ने थिएन होला । उनले अहिले सम्म एउटा गीतलाई बढीमा ३ पटक सम्म कम्पोज गर्ने गरेका रहेछन् । तर, यो गीतले पाएको प्रतिक्रिया पछि उनलाई लागेको छ जति पटक कम्पोज गर्न परेपनि हार खानु हुन्न, राम्रो कामका लागि ।
गीत सार्वजनिक भएपछि सबैतिर यसको चर्चा चल्यो । सुवासलाई पनि धेरैले बधाई दिए । गीत रुचाइयो । सवारी दुर्घटनामा परेर खुट्टा भाचिएका कारण उनी घरमै रेष्ट गरिरहेका थिए । प्लास्टर त खोलिएको थियो तर हिडडुल गरेका थिएनन् । यसपटक भने उनको मन मानेन् । सामाखुशी बस्ने सुवास नक्सालमा रहेको अफिस आइपुगे । त्यो पनि लड्डु बोकेर । पहिलो लड्डु दिनेशलाई नै खुवाए ।
सुवासले कम्पोज तयार गरेपछि एरेन्जका लागि उदयराज पौडेललाई दिए । पौडेलले एरेन्ज त गरे तर बाजाको सही प्रयोग गर्नबाट चुके । बाजाको छनौट उपयुक्त लागेन । त्यसैले संगीतकार र निर्देशकले उनले प्रयोग गरेको एउटा बाजाको धुन हटाउने निर्णय लिए । त्यो बाजाको धुन हटाएर सारङ्गीको लाइभ धुन भरे । त्यही सारङ्गी धुनले गीतलाई जीवन्त बनायो ।
गीतको ट्रयाक तयार भएपछि केतन क्षेत्रीलाई स्वर दिन भनियो । शुरुमा केतनलाई आफुले यो गीत गाउन सक्दिन की भन्ने लागेछ । फरक जनराका गीत गाइरहेका केतनलाई निकै च्यालेञ्जिङ्ग पनि लाग्यो । उनले झण्डै एक हप्ता घरमै बसेर अभ्यास गरे । एक हप्ताको अभ्यास पछि उनी गीत गाउन तयार भए । गीत रेकर्ड गरियो । ओके भयो । तर, केतन, दिनेश र सुवासले गीत सुनेपछि एक स्केल बढाएर पुनः रेकर्ड गर्ने निर्णय लिएछन् । गीत फेरी रेकर्ड गरियो । शुरुमा केतनलाई च्यालेञ्जिङ्ग लागेको गीतले अब भने उत्साह थपिरहेको थियो । तर, कस्तो हुने हो । आफ्नो स्वर यो जनराको गीतमा रुचाइन्छ वा रुचाइदैन भन्ने डर पनि थियो । गीत रिलिज भयो धेरैले केतनको स्वरको फ्यान भएको भन्दै प्रतिक्रिया दिए । अहिले पाश्र्व गायनमा केतनलाई अफरहरु निकै आउन थालेको छ । तर, आफ्नो स्वरलाई फिट हुने गीतमात्र गाउने सोच छ उनको । त्यसमाथी कम्पोज मन पर्नुपर्ने बताउँछन् ।
यसरी गीत तयार भयो । तर, शुरुमै यो गीत सार्वजनिक गर्ने कुरा थिएन । चलचित्रमै समाबेश अर्को गीत रिलिजको अन्तिम तयारी थियो । त्यसैबेला निर्देशकको सोच एकाएक बद्लियो । उनलाई लागेछ आफ्ना चलचित्रका अक्सर गीतहरुले कथा बोकेका हुन्छन् । त्यसैले यसपटक पनि शुरुमा त्यस्तै गीत सार्वजनिक गर्नुपर्छ । उनले यसो भनिरहदा हामीले जान्न खोज्यौं त्यसो भए अर्को गीतले कथा बोक्दैन ? उनले थपे अर्को गीत कथाको माग हो, सिच्युयसनमा फिट छ । तर, लै... लै... ले जस्तो चलचित्रको पुरा कथा बोक्दैन । आफु चलचित्रको कथा बोक्ने गीत सार्वजनिकको निर्णयमा पुगेपछि शुरुमा उनले निर्माता सुभाष थापासँग कुरा गरेछन् । निर्माता, निर्देशको सल्लाह भएछ, अनि उनीहरु निर्णयमा पुगेछन् पहिला लै.. लै... नै सार्वजनिक गर्ने ।
यो कुरा सुनाइरहँदा निर्माता सुभास थापाले आफु टिममा विश्वास गर्ने भएकोले टिमको निर्णयमा नै लै... लै... सार्वजनिक गरिएको बताए । यो गीत धेरैले रुचाएसँगै अहिले चलचित्र प्रतिक्षित बनिरहेको छ । विदेशबाट चलचित्रको चर्को माग भइरहेको छ । राम्रो चलचित्र बनाऊ भन्ने सोच राख्ने सुभाष प्राप्त प्रतिक्रियाले उत्साहित छन् ।
अहिले चलचित्रको सम्पादन भइरहेको छ । गीतको सफलतासँगै दर्शकहरुमा चलचित्र प्रतिको अपेक्षा पनि बढीरहेको छ । जसका कारण निर्माण टिम माथी दर्शकको अपेक्षा अनुरुप चलचित्र बनाउँन दबाब बढीरहेको छ । सायद यो कुरा निर्देशकले बुझेकै होलान ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev